४ श्रावण २०८३, सोमबार

 

ललिता निवास जग्गा प्रकरण : माधवकुमार नेपालविरुद्धको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

बालुवाटारको ललितानिवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको सुनुवाइका लागि आज पुनः पेसी तोकिएको छ ।

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संलग्नता रहेको भए पनि अनुसन्धान गरी मुद्दा चलाउने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै उनीहरुलाई समेत विपक्षी बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हुन लागेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइको लागि पेसी तोकिएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं समेतलाई विपक्षी बनाई राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्दा चलाएको भन्दै तत्कालीन प्रधानमन्त्रीलाई समेत मुद्दा चलाउन माग गरेर रिट दायर गरेका थिए ।

यसअघि पेसी तोकिए पनि हेर्न नभ्याइने भनेर सरेको मुद्दाको सुनुवाइका लागि आज पुनः पेसी तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung