काठमाडौं जिल्ला अदालतमा कर्मचारीबीच कुटाकुट भएको छ । इजलास अधिकृत र फाँटका कर्मचारीबीच झगडा हुँदा हात हालाहाल भएको हो । न्यायाधीशकै सामुन्ने भएका मुक्का हानाहानमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएका हुन् ।
नायब सुब्बा नेत्रप्रसाद बास्तोला र शर्माबीच हात हालाहाल भएको हो । अदालत स्रोतका अनुसार यसअघि भइसकेको आदेशको व्यहोरालाई लिएर शर्मा र बास्तोलाबीच हात हालाहाल भएको हो । अदालतका श्रेष्तदार भीमबहादुर निरौलाले घटना भएको बताउँदै अनुसन्धान भइरहेको बताए ।
१४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीको सामुन्ने उक्त घटना भएको हो । सोमबार इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुईबीच झगडा भएको हो । झगडाले केही समय अन्य इजलास पनि प्रभावित भए।
निरौलाका अनुसार दुईबीच यसअघि भएको आदेश कुन ब्यहोरामा सही गराउने भन्ने विवाद प्रारम्भिक रुपमा देखिएको छ । मालपोतलाई भएको उक्त आदेशमा इजलास अधिकृत शर्माले सुरुमा कार्यालयलाई पत्र काट्नुपर्ने अडान राखेका थिए ।
नायब सुब्बा बास्तोलाले सिधै कार्यालय प्रमुखलाई बोलाउने गरी पत्र काट्नुपर्ने अडान राखेको थिए । सोही विषयलाई लिएर दुईबीच हात हालाहालको अवस्था सिर्जना भएको हो । घाइते शर्माको ट्रमा सेन्टरमा उपचार भइ रहेको छ ।













































































































































































































