३ श्रावण २०८३, आईतवार

 

व्यक्तिको जग्गामा सरकारी भवन

जुनसुकै संस्थाले भवन बनाउनुपर्दा आफ्नो नाउँमा जग्गा प्राप्त गरेपछि मात्रै सरकारी अनुदान खर्च गर्न पाउने कानुनी व्यवस्था छ । तर यहाँको एक वडाले अझै व्यक्तिकै नाममा रहेको जग्गामा अनुदान लगेर कामसमेत थालेको छ । बागलुङ नगरपालिका–९ तित्याङको पोखरी भन्ने स्थानमा व्यक्तिगत जग्गामा वडा कार्यालयको भवन बनाउन लागिएको हो ।

वडा कार्यालय बनाउन भन्दै ४० लाख रुपैयाँको स्टिमेट गरिएकोमा चालू वर्षको साढे ११ लाख रुपैयाँ निकासा लगेको भेटिएको छ । जग्गाधनी पुर्जा नभएको जग्गामा वडाध्यक्षले राजनीतिक पहुँचका आधारमा रकम निकासा गरेका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले रकम निकासा भइसकेको बताए । ‘म आउनुअघि नै रकम निकासा भइसकेको रहेछ, तर वडाको आफ्नै नाउँमा जग्गा भने हात परेको छैन,’ रिजालले भने, ‘प्राविधिकले ल्याउने मूल्यांकनको आधारमा कार्यालयले बजेट निकासा गरेको हो ।’

उक्त वडाको प्राविधिक मूल्यांकन गर्ने इन्जिनियर र वडाध्यक्षले प्रक्रिया नपुग्दै दबाब दिएर रकम विनियोजन र निकासा गराएको पाइएको छ । वडाध्यक्ष गणेशबहादुर थापाले भने प्रक्रियामा भएकाले दबाब नदिइएको दाबी गरे ।

पाँच रोपनी जमिन चाहिने भएकाले केही जग्गा पास गर्न बाँकी रहेको भने उनले स्विकारे । ‘हामीले प्रक्रिया थालिसकेका छौं तर जग्गाधनी विदेशमा भएकाले पास गर्न पाएनौं’ थापाले भने, ‘बनाएको संरचना भने सार्वजनिक जमिनमा छ ।’

थापाका अनुसार स्थानीय गोबिन बोहरा र अर्जुन केसीको गरी डेढ रोपनी जमिन वडाको नाउँमा पास नभएको हो । बाँकी साँढे ३ रोपनी जमिन भने सार्वजनिक स्थान भएको थापाले बताए ।

स्थानीय बासिन्दाले वडा कार्यालयमै गैरकानुनी रकम निकासा भएको भन्दै नगरपालिकामा उजुरी गरिसकेका छन् । उक्त वडा हेर्ने इन्जिनियर मनोज शर्माले भवनको केही खण्ड पास नभएको जमिनमा परेको बताए । प्रमुख प्रशासकीय अधिकृत रिजालले भने एउटा पिलर परे पनि गैरकानुनी हुने भन्दै तत्काल काम रोक्न निर्देशन दिइएको बताए । ‘जग्गा पास नभई काम थाल्नै मिल्दैन, पहिला जग्गा पास गर्नोस् भनेको छु,’ रिजालले भने, ‘निकासा भएको रकमसमेत खर्च नगर्न निर्देशन दिएको छु, प्रक्रियाबिना काम हुँदैन ।’

सरकारी बजेटको दुरुपयोग गरेको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिने तयारी गरेका छन् । नगरप्रमुख जनकराज पौडेलले रकम निकासा भएको थाहा नपाएको बताए । ‘मैले पनि यो कुरा सुनेको छु, के रहेछ बुझ्छु,’ पौडेलले भने, ‘प्रक्रिया नपुगेको काम गर्न मिल्दैन ।’ उजुरी परेको बारे भने उनले अनभिज्ञता प्रकट गरे ।

भवन निर्माणका लागि समेत वडा कार्यालयले पहिला टेन्टर खुलाएको र त्यसपछि उपभोक्ता समितिमार्फत काम गर्न लगाएको छ । टेन्डर प्रक्रियामा गएकाहरूले वडा कार्यालयले कमिसनका लागि फेरि उपभोक्ता समितिमार्फत काम गराउन लागेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung