गण्डकी प्रदेशको दोश्रो व्यापारिक केन्द्र बागलुङ बजारमा साना ठुला सवारीसाधन पार्किङ गर्ने पार्किङ स्थल नहुदा बागलुङ बजार अस्तब्यस्त हुदै जान थालेको छ । बजार क्षेत्र भित्र ब्यवस्थित पार्किङ नहुँदा बागलुङ सदरमुकाममा भित्र भित्रीने सवारीसाधन तथा स्थानियले सास्ती खेप्न बाध्य हुदै आएका छन् ।
सदरमुकाम बागलुङ बजारमा रहेकोे बसपार्क सानो भएका कारण सवारी पार्किङ गर्दा ठाउँ नै हुदैन भने बजार क्षेत्रमा पार्किङ गर्ने ठाउँ नभएपछि बजारमा एकतर्फी पार्किङ गरिन थालेको छ ।
पुरानो संरचना अनुसार बनेको बागलुङ बजारमा मोटर साईकल ,स्कुटी लगायतका सवारीसाधन प्रयोग गर्ने उपभोक्ता ह्वात्तै बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लामा रहेका सरोकारवाला संग समन्वय गरेर बजार भित्र ३ ÷३ दिन एकतर्फी पार्किङको ब्यबस्था गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिव पाठकले बताउनु भयो ।
जथाभावी रोकिएका सवारीका कारण पैदल यात्रु लाई हिडडुल गर्न समेत सास्ती परिरहेको छ । दैनिक सयौ सवारी चल्ने साँघुरो सडकका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । बजारक्षेत्रमा जथाभावी निर्माण सामग्री राख्ने, गाडी पार्किङ गर्ने,बिभिन्न वाहनामा सवारी पार्किङ गर्ने गरेकाले दैनिक जसो सवारीसाधनहरु जाम हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको स्थानीय व्यवसायी हरी सुवेदीले बताउनु भयो ।
बागलुङ नगरपालिकाले पटक पटक बजार ब्यवस्थापन गर्ने ठेला लगायतका ब्यापार बजार भित्र गर्न नपाइने सवारी पार्किङ ब्यबस्थित रूपमा बनाउने भनेर प्रचारप्रसार गरेपनि जननिर्वाचित प्रतिनिधि आएको ३ बर्ष बितिसक्दा समेत १ प्रतिशत पनि प्रगति हुन नसकेको बागलुङ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।
बागलुङ सदरमुकाममा चार दर्जनभन्दा बढी बैंक बित्तिय संघसंस्था संचालनमा भएपनि कसैले पनि सवारीसाधन पार्किङ गर्ने ठाउँ बनाएका छैनन् ।ट्राफिक प्रहरी बागलुङले पटक पटक पार्किङ निषेधका बोर्ड लगाउनुका साथै जरिवाना र जनचेतनामूलक सन्देश प्रवाह गर्ने गरिएको भए पनि सडकमा मोटरसाईकल तथा साना गाडीहरु राख्ने व्यवस्थित स्थान नभएकोले सडकमा राख्नु पर्नै बाध्यता रहेको सवारीसाधन चालकहरुको भनाई छ ।
राजमार्ग मात्र नभई सदरमुकाम आसपासमा आवागमन गर्ने मुख्य सडकको विषयमा पटकपटक आवाज उठिसक्दा पनि बागलुङ नगरपालिकाले गम्भीरतापूर्वक सवारीसाधन पार्किङ गर्ने ठाउँ बनाउन नसक्दा बजार क्षेत्र ब्यवस्थित हुन सकेको छैन । बागलुङ नगरपालिकाले बजार भित्र पार्किङ स्थल बनाउने कुरा पटकपटक गरेपनि अहिलेसम्म ब्यवस्थापन भने गर्न सकेको छैन ।पार्किङ गर्ने ठाउँ नहुदा बजार झन साँघुरो र कुरूप बन्दै गइरहेको देखिन्छ ।













































































































































































































