वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन कोरोना सङ्क्रमितको उपचारका क्रम्मा मृत्यु भएको छ । अस्पतालको आइसीयूमा भर्ना रहेका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० बजे मृत्यु भएको छ भने बाराको जितपुर सिमरा–२४ निवासी ७७ वर्षीय पुरुषको गए राति ११ः३० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए ।
नगवा निवासी महिलामा निमोनियालगायत रोगको लक्षण देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गराइएको र उनको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो भने छपकैया निवासी महिलालाई वैशाख १४ गते अस्पताल भर्ना गरी सोही पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको उनले बताए ।
उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र मधुमेहबाटसमेत ग्रसित रहेका जितपुर सिमरा निवासी पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वैशाख १० गते अस्पतालमा भर्ना गरिएको र सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको डा दासले जानकारी दिए । यससँगै पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको जिल्ला प्रशासन कार्याल पर्साले जनाएको छ ।
एकैदिन भेटिए १७५ सङ्क्रमित
दुई अङ्कमा भेटिदै आएको कोरोना सङ्क्रमितको सङ्ख्या पर्सामा तेहरो अङ्कमा प्रवेश गरेको छ । वीरगञ्ज नारायणी अस्पतालको प्रयोगशालामा २८८ जनाको स्वाब नमूनालाई परीक्षण गर्दा १७५ मा सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाब नमूनाको आज बिहान आएको परीक्षण रिर्पोटमा १० देखि ७२ वर्ष उम्मेर समूहका १३१ पुरुष र ४४ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकाबाट १३१, बाराबाट ३४, सर्लाहीबाट पाँच, रौतहटबाट तीन र महोत्तरी तथा दाङबाट एक÷एक सङ्क्रमित भेटिएको नारायणी अस्पतालका कोभिड संयोजक डा दासले जानकारी बताए । उनले भेटिएका सङ्क्रमितको सिटी भ्यालु १४.२ देखि ३५.२ सम्म रहेको छ भने १५ देखि ३५ वर्ष उमेर समूहका सङ्क्रमितको सङ्ख्या बढी रहेको बताए । यससँगै पर्सामा कूल सङ्क्रमितको सङ्ख्या चार हजार ४३९ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २९२ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



















































































































































































































