४ जेष्ठ २०८१, शुक्रबार

 

धुर्मुसले बीपी प्रतिष्ठानको कोभिड अस्पताललाई दिए ५० सिलिन्डर अक्सिजन

- धुर्मुस–सुन्तली फाउन्डेसनले आकस्मिक सहायता कक्षमार्फत एम्बुलेन्स, रक्तदानको सेवा दिँदै

अभिनेता एवं सामाजिक अभियन्ता सीताराम कट्टेल धुर्मुसले अस्पताललाई अक्सिजन सहयोग गरेका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष रहेका उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शय्याको कोभिड अस्पताललाई ५० सिलिन्डर अक्सिजन हस्तान्तरण गरेका हुन् ।

अक्सिजन नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भनेर अस्पताललाई सहयोग गरेको उनले बताएका छन् ।

भाइरस संक्रमितको उपचारमा अक्सिजनको अभाव देखिएकाले बर्दिवासमा अक्सिजन प्लान्ट स्थापना गर्ने उनको योजना छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले महामारीबाट पीडित भएकाको राहत र उद्धारका लागि आकस्मिक सहायता कक्ष स्थापना गरेर एम्बुलेन्स, रक्तदान लगायतका सेवा दिँदै आएको छ ।

अहिलेसम्म हेल्प डेस्कबाट ८ सयभन्दा बढी व्यक्तिलाई सेवा दिइसकेको र भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरिएको धुर्मुसले फेसबुकमा उल्लेख गरेका छन् ।

२०७२ को भूकम्पपछि सामाजिक कार्यलाई निरन्तरता दिँदै आएका धुर्मुस अहिले भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खटिरहेका छन् ।

२०७६ सालमा प्रदर्शनमा आएको फिल्म ‘सेन्टी भाइरस’बाट अभिनयमा कमब्याक गरेका उनी रंगशाला निर्माणपछि अभिनयलाई निरन्तरता दिने योजनामा छन् ।

प्रतिक्रिया दिनुहोस्