नापी कार्यालय बागलुङले डिजिटल प्रविधिबाट सेवा दिन थालेको छ । नक्सा प्रिन्ट, जग्गाको कित्ताकाट र नक्सांकनलगायत काम कम्युटर प्रविधिबाटै गर्न थालिएको हो ।
यी काम हातले गर्दा ढिलो भएको र गुणस्तरीय नभएको गुनासो आएपछि डिजिटल प्रविधि सुरु गरिएको कार्यालयले जनाएको छ ।
डिजिटल प्रविधबाट काम गर्दा क्षेत्रफलमा एकरूपता हुनुका साथै तुरुन्तै नक्सा तयार पारेर प्रिन्ट गर्न सकिने भएकाले विश्वसनीयता पनि बढ्ने नापी कार्यालय बागलुङका प्रमुख योगेन्द्रकुमार यादवले नयाँ विश्वलाई बताए ।
अब सेवाग्राहीले सहज ढंगले छिटो सेवा पाउने छन् भने सरकारी कामले पनि तिब्रता पाउँने छन् उनले भने ।
‘कार्यालयको काम परम्परागत ढंगले चलिरहेकाले आधुनिकीकरण गर्दा सबैलाई सहज हुने, समयको पनि बचत हुने, दुःख पनि नहुने देखियो । त्यसैले कर्मचारीहरूको सहयोगमा प्रायः सबै नक्सालाई डिजिटाइज गर्नुका साथै अनलाइनमार्फत काम गर्ने व्यवस्था मिलाएका हौं,’ उनले भने ।
सबै नक्सालाई डिजिटाइज गर्नको लागि चार महिना लागेको थियो ।बागलृुङ नगरपालिकाको १ वडादेखि ५ नं वडासम्मको नक्सा पनि डिजिटाइज हुने क्रममा रहेको कार्यालयले जनाएको छ ।
जमिनको नापनक्साबाट भू–सम्बन्ध र भू–स्वामित्वको अवस्थासमेत यकिन गरिने भएकाले नापजाँचसम्बन्धी काम महत्त्वपूर्ण र संवेदनशील भएको यादवले बताए ।
उनका अनुसार यसमार्फत नापनक्सामा भएका सामान्य कमजोरीबाट पनि साँध, सिमाना र स्वामित्वसम्बन्धी विवाद सिर्जना भई विकास कार्यमा अवरोध एवं सामाजिक सद्भावमा समेत आँच आउने अवस्था न्यूनीकरण गर्न खोजिएको हो ।
यसअघि अमिन र सर्वेक्षकले हातैले नक्सा र क्षेत्रफल तयार पार्दा जग्गा सही ठाउँमा नभेटिने, क्षेत्रफल पनि फरक पर्ने हुँदा नागरिकले सास्ती बेहोर्दै आएका थिए ।
डिजिटल प्रविधिमा गएपछि काम गर्नसमेत सहज भएको नापी कार्यालयका अमिन गोविन्द शर्माले बताए ।यसअघि नक्सा प्रिन्ट गर्न घाम कुरेर, आकाशको भर पर्नुपर्ने बाध्यता रहेकोमा कम्प्युटर प्रणालीले अहिले सेवा प्रवाह निकै सजिलो भएको अर्की अमिन सुषमा शर्माको भनाइ छ ।
कार्यालयका अनुसार पुरानो नापी नक्सालाई डिजिटलाइज गर्दै अहिले कम्प्युटर प्रणालीबाट नयाँ कित्ताकाट गर्न थालिएको हो । यसअघि एक जनाको कित्ताकाट गर्न एकदेखि डेढ घण्टा लाग्ने गरेकोमा अहिले त्यो समय ५ मिनेटमा झरेको छ ।
कार्यालयका अनुसार अहिले पुरानो फाइल खोजिरहन पर्दैन । कम्प्युटरमा सम्बन्धित जग्गाधनीको कित्ता नम्बर राख्नेबित्तिकै सबै नक्सा सेवाग्राहीले कम्प्युटरको स्क्रिनमा प्रस्ट देख्न सक्ने व्यवस्था मिलाइएको छ ।
कार्यालयप्रमुखकै कोठाबाट सबै कक्षको अवलोकन र निर्देशन दिन मिल्ने व्यवस्था गरिएको छ । त्यस्तै कर्मचारीलाई पनि कार्यालयको सर्भरमा पहुँच दिई नक्सा प्रिन्ट, कित्ताकाट, फिलबुक प्रिन्ट, प्लट रजिस्टर गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
पहिला आना, पैसा र दामका अलग–अलग टायल जोडेर कागजमाथि पेनसिलले कित्ताकाट गर्नुपथ्र्यो ।यसो गर्दा नतिजा पूर्ण भरपर्दो हुँदैनथ्यो । नयाँ कित्ताकाटमा भने एक इन्च जमिन पनि तलमाथि नहुने भएकाले कसैलाई मर्का नपर्ने कार्यालय प्रमुख योगेन्द्रकुमार यादवले बताए ।













































































































































































































