गलकोट नगरपालिकाको बजार क्षेत्रका सडक ढलान गरिएका छन् । बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्नुपर्ने बाध्यता अन्त्य गर्न चारवटा बजार क्षेत्रमा ढलान गरिएको हो ।
यसका लागि नगरपालिका र स्थानीय बासिन्दाले लगानी गरेका छन् । वडा नं २ को नरेठाँटी बजार, ३ को हटिया बजार, ५ को हरिचौर बजार र ८ को काँडेबास बजारको सडक ढलान गरिएको हो ।
नगरपालिकाले लागत मूल्यको ७० प्रतिशत र स्थानीयले ३० प्रतिशत बेहोरेका छन् । ‘हामीले श्रमदान गरेर भए पनि बजार आकर्षक बनाउन चाह्यौं, त्यसपछि नगरपालिकाले लगानी गरेको हो,’ २ नम्बर वडाध्यक्ष हिमबहादुर भण्डारीले भने, ‘अहिले बजारको आकर्षण नै छुट्टै छ ।’
नरेठाँटी बजारमा ढलान गर्न पहिलो वर्ष ३० लाख, गत वर्ष २५ लाख र यस वर्ष १० लाख लगानी गरिएको छ । वडा नं ५ को हरिचौरमा १ करोडभन्दा बढी लगानी गरेर १ किमी सडक ढलान गरिएको छ ।
‘अझै केही खण्ड बाँकी छ, उपभोक्ताले पनि कतिपय काम गरेका छन्,’ वडाध्यक्ष नारायणध्वज मल्लले भने, ‘ऐतिहासिक बजारमा हिलोले आउजाउ गर्न गाह्रो थियो, पाहुनाले पनि नराम्रो मान्थे, अहिले राम्रो भयो ।’
बजार क्षेत्रमा कालोपत्र गरे पनि नटिक्ने समस्या भएकाले ढलानको अवधारणा ल्याइएको उनले बताए ।
हटिया बजारमा गत वैशाखदेखि नै काम थालेर असार मसान्तमा ढलान सम्पन्न गरिएको छ । यहाँ नगरपालिकाको ७० लाख र स्थानीयको ३० लाख लगानीमा एक किमी सडक ढलान गरिएको वडाध्यक्ष वीरजंग भण्डारीले बताए ।
ढलानपछि बजार क्षेत्र सफा देखिएका छन् । हिलाम्मे सडकले बजारको व्यवसायमै असर परेको, बसाइँ सराइ बढेपछि ढलानको अवधारणा ल्याइएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
नगरपालिकाले गाडी गुडाउन मुस्किल रहेका ग्रामीण सडक पनि ढलान गर्ने योजना अघि सारेको उनले जानकारी दिए । सोही अनुसार कतिपय स्थानमा ढलान गरिसकिएको पनि छ ।
वडा नं १ को दुदिलाभाटी, वडा नं ७ को सप्ताहघाटलगायत स्थानमा छिटपुट ढलान गरिएको हो । वडा नंं ४ को कार्यालय जोड्ने बाटो भने कालोपत्र नै गरिएको छ ।
नगरको गौरवको योजनामा सूचीकृत यो सडकले खरुवा मावि र चमुवासम्म जाने यात्रीलाई समेत सहज भएको छ ।
वडा नं २ ले मध्यपहाडी लोकमार्गको काफलठुटादेखि झाँक्रीस्थान जाने सडकको विकल्पमा ग्रामीण सडकलाई ग्राभेलसमेत गरेको छ । झन्डै ५ किमी लामो यो सडक आधाभन्दा बढी ग्राभेल भइसकेको हो ।
लोकमार्ग अवरुद्ध हुँदा जिप तथा हलुका सवारीसाधन चालकले यो सडक उपयोग गर्न थालिसकेका छन् ।













































































































































































































