३ श्रावण २०८३, आईतवार

 

काठेखोला गाउँपालिकाको डिजिटल प्रोफाइल तयार

काठेखोला गाउँपालिकाले आफ्नो क्षेत्रका सबै घरधुरीको विवरण समेटेर डिजिटल प्रोफाइल तयार पारेको छ । उक्त प्रोफाइल चाँडै सार्वजनिक गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।

‘अब गाउँपालिकाका हरेक घटना र विवरण क्षणभरमै संसारको जुनसुकै कुनामा बसेर हेर्न र बुझ्न सकिनेछ,’ थापाले भने, ‘प्रोफाइल अपडेट गर्न कर्मचारीलाई तयार गरिनेछ ।’

गाउँपालिकाको भौगोलिक अवस्थादेखि कलासंस्कृति र जनसंख्यासम्मका विवरण प्रोफाइलमा भेटिने थापाले दाबी गरे । ‘चाहेको सबै विवरण इन्टरनेट भएको ठाउँमा एक क्लिकमा देख्न पाइन्छ,’ उनले भने, ‘काठेखोलाका विषयमा बुझ्न अब गाउँपालिका नै आउन पर्दैन ।’

व्यक्तिगत घटना दर्ता, राजस्वको भुक्तानी, योजनाको सम्झौता तथा फरफारकलगायत काम डिजिटल माध्यमबाट सुरु गरिसकेको गाउँपालिकाले ‘स्मार्ट गाउँपालिका’ बनाउनकै लागि डिजिटल प्रोफाइल तयार गरिएको जनाएको छ ।

‘हरेक घरको तस्बिर हुन्छ, घरमा रहेका सदस्यसंख्या र उनीहरूको सबै विवरण त्यहाँ राखिएको छ,’ थापाले भने, ‘थपघट हुँदा जोड्ने र घटाउने काम सार्वजनिक भएपछि सुरु हुन्छ ।’

प्रोफाइल तयार पार्न गाउँपालिकाले गत आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्रविधिको विकाससँगै विवरण पनि आधुनिक तरिकाबाट सुरक्षण गरिएको थापाले बताए । आठवटा वडा रहेको गाउँपालिकाले हरेक घरमा पुगेर विवरण संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung