भोलिदेखि अर्घाखाँचीमा पूर्णकालिन निषेधाज्ञा हुने भएको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालिन निषेधाज्ञा गर्ने भएको हो ।
शनिबार राति १२ बजेबाट लागू हुनेगरी ३० गतेसम्म पूर्णनिषेधाज्ञा जारी गर्ने डिसिसिएमसीको बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए ।
अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पुर्ण रूपमा बन्द हुने निर्णय भएको छ । अर्घाखाँचीमा अहिलेसम्म ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । कोभिडका २६ जना विरामी अर्घाखाँची अस्पतालमा भर्ना भएका छन् ।
गत साउन ३० मा सक्रिय संक्रमित १८९ थिए । १५ दिनमा त्यो संख्या ह्वात्तै बढेको छ । सार्वजनिक तथा भाडाका सवारी साधन सञ्चालनमा आउनु, बैंक तथा वित्तीय संस्थामा भीडभाड बढ्नु, व्यवसाय सञ्चालनमा आएसँगै कोरोना संक्रमित बढेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।
एक हप्ताअघि ६ जना बिरामी अर्घाखाँची अस्पतालमा भर्ना भएकोमा बिहीबारसम्म २६ जना कोभिडका बिरामी भर्ना भएका छन्। हाल उनीहरुको उपचार भइरहेको डाक्टर कपिल गौतमको भनाइ छ ।













































































































































































































