बागलुङमा निषेधाज्ञा पालना नगर्नेहरूलाई सडकमै रोकेर कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितका परिवार सदस्यहरू परीक्षण नगराई बजार डुल्ने गरेको भन्दै बागलुङ नगरपालिकाले सडकमै रोकेर एन्टिजेन परीक्षण गराउन थालेको हो ।
कतिपय नागरिक कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि परीक्षण गर्न नमान्ने तर बजारमा हिँडडुल गर्ने गरेकोले जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आग्रहमा बागलुङ नगरपालिका स्वास्थ्य शाखाले यस्तो अभियान सुरु गरिएको जनाएको छ ।
निषेधाज्ञाको समयमा पनि मानिसहरू जथाभावी सडकमा निस्किने गरेका छन् । महामारीका बेला अनावश्यक रूपमा हिँडडुल गर्ने प्रवृत्तिलाई निरुत्साह गर्न घुम्ती कोरोना परीक्षण थालिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले नयाँ विश्वलाई बताए ।
उनका अनुसार तीन दिनसम्म बागलुङ बजारको नारायण चोक, उपल्लाचौरस्थित ब्यारेक चोक र लोकतान्त्रिक चोकमा १ सय ६८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएको थियो ।
‘समुदायमा कत्तिको कोरोना फैलिरहेको छ, यसको यकिन गर्न पनि नमुनाका रूपमा घुम्ती परीक्षण गरिएको हो,’ ३ नम्बर वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले भनिन् ।
कोभिड–१९ पहिलोदेखि दोस्रो लहरसम्म आउँदा बागलुङमा ६५ जनाको ज्यान गएको छ । जिल्लामा मृत्यु भएकामध्ये अधिकांश संक्रमित गम्भीर लक्षण देखिँदा पनि हेलचेक्य्राइँ गरी घरमै बस्नेहरू छन् ।
यसरी सडकमै कोरोना परीक्षण गर्दा संक्रमणको अवस्था बुझ्न र नियन्त्रणको रणनीति बनाउन सहज हुने स्थानीय धनबहादुर परियारले बताए । जिल्लामा हालसम्म २५ हजार ८ भन्दा बढी परीक्षण हुँदा ७ हजार ४ सय २१ जनामा सक्रमण पुष्टि भएकोमा ६ हजार ९ सय ८६ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३ सय ७० छ ।



















































































































































































