नेकपा (एमाले)का सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने भएका छन् ।
मंगलबार सर्वोच्च अदालतले नयाँ पार्टी रोज्न पाउने बाटो खोलेको हो । उनीहरूले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले नयाँ पार्टी रोज्न पाउने गरी अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलमा आवद्ध हुने गरी मिति २०७८–५–८ गते प्रत्यर्थी निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरूको सो दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्नू, नगराउनू भनी प्रस्तुत निवेदक अन्तिम किनारा नलागेसम्मका लागि प्रत्यर्थीहरूका नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ।’
माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिँदा उनीहरूको नाम समावेश गरिएको थिएन। निवेदनमा नाम नभएको भन्दै आयोगले उनीहरूको सनाखतलाई मान्यता दिएको थिएन। त्यसलाई जानकारी भने राखेको थियो।
त्यसका विरुद्ध सांसदद्वय पाण्डे र भट्टले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उनीहरूको माग बमोजिम सर्वोच्चले मुद्दाको किनारा नरालगेसम्म कुनै कारबाही नगर्न आदेश दिएको हो।













































































































































































































