ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली जनताका सरोकारलाई सम्बोधन गर्नुभन्दा निजी स्वार्थमा लागेको राजनीतिक दलहरूले आरोप लगाएका छन् ।
६ राजनीतिक दलका ढोरपाटन नगरस्तरीय प्रतिनिधिहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । संयुक्त विज्ञप्तिसमेत जारी गरेका उनीहरूले नगरप्रमुखको कार्यशैली नसुध्रिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विज्ञप्ति जारी गर्नेमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी, नेकपा क्रान्तिकारी माओवादी र जनता समाजवादी पार्टीका प्रतिनिधि छन् ।
मेयर नेपालीकै कारण ढोरपाटन देरभरकै भ्रष्ट पालिका हुन पुगेको दलहरूको निष्कर्ष छ । नगरप्रमुखले जनताको रगत–पसिनाबाट आर्जित बजेटलाई मनोमानी प्रयोग गरेको, स्थानीय तह सञ्चालन ऐनविपरीत गतिविधि गरेको,
जनतालाई अनावश्यक प्रलोभन देखाएर पार्टी प्रवेश गराएको, मेला तथा पर्वका नाममा विनानिर्णय ठूलो परिमाणमा बजेट निकासा गरेको, कुनै एक निहित संस्थालाई आफू चर्चित हुने मनसायले नगरको स्रोतसाधन दुरुपयोग गरेको उनीहरूले आरोप लगाएका छन् ।
विज्ञप्ति जारी गर्ने दलका प्रतिनिधिमा नेपाली कांग्रेसका ढोरपाटन नगर सभापति धनबहादुर कायत, माओवादी केन्द्रका ढोरपाटन कमिटी अध्यक्ष भीम गौतम, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य तथा ढोरपाटन नगरपालिकाका–९ का वडाध्यक्ष हरिबहादुर
घर्तीमगर, राष्ट्रिय जनमोर्चाका ढोरपाटन नगर उपाध्यक्ष तमबहादुर घर्ती, नेकपा क्रान्तिकारी माआोवादीका केन्द्रीय सदस्य नीलबहादुर पुन र जनता समाजवादी पार्टीका ढोरपाटन नगर संयोजक गंगाबहादुर घर्तीमगर छन् ।
मेयर नेपालीले नगरपालिका स्थापित भएयता हालसम्म शिक्षा, स्वास्थ्यलगायत स्थानमा आफूखुसी कर्मचारी नियुक्त गरेको, सरुवा–बढुवा गरेको, जग्गा व्यवस्थापन, सडक एवम् भौतिक सामग्री खरिद तथा कोरोना व्यवस्थापन, बाढीपीडितलाई दिने राहत वितरण र जस्तापाता, पाइप खरिदमा चरम अनियमितता गरेको दलहरूको दाबी छ ।
यसको तथ्यगत वास्तविकता छिट्टै जनतामाझ ल्याउने प्रतिबद्धता पनि उनीहरूले विज्ञप्तिमा जनाएका छन् ।














































































































































































































