३ श्रावण २०८३, आईतवार

 

बागलुङ नगरपालिकाका मेयर र उपमेयरले दिए मतदातालाई धन्यवाद, जनताले महसुस हुने गरी काम गर्छु : मेयर श्रेष्ठ

नेपाली कांग्रेस नेतृत्वको पाँच दलिय गठबन्धनबाट बागलुङ नगरपालिकाको मेयरमा निर्वाचित बसन्त कुमार श्रेष्ठ र उपमेयर राजु खड्काले आम मतदातालाई धन्यवाद दिएका छन् । सोमबार बागलुङमा पत्रकार भेटघाट आयोजना गरी आफूहरुलाई अमुल्य मतदान गरी निर्वाचित गराउने मतदाताहरुलाई धन्यबाद ज्ञापन गरेका हुन् ।

बागलुङ नगरपालिकाको मेयर, उपमेयरसहित नगरको सबै वडामा उत्साहपूर्वक मतदानमा सहभागिता जनाएर हामीलाई अमू्ल्य मतदान गरी विजयी गराउनु भएकोमा हृदयदेखि नै आभार व्यक्त गर्दछौं सो अवसरमा जारी प्रेस वक्तव्यमा भनिएको छ हाम्रो गठबन्धनलाई निर्वाचित गराउनु भएकोमा सबै मतदाता, राजनीतिक दलहरु, जनवर्गीय, भातृ संगठनहरु, वडावासी नागरिकहरु, संघसंस्थाहरु, उद्योगी व्यवसायीहरु, नागरिक समाज, देशविदेशमा रहनुभएका हाम्रा शुभेच्छुक, पत्रकारलगायत सबैलाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछौं ।
नगरवासीले राखेका अपेक्षा अनुसार नगरको सुधार गरी जनउत्तरदायी प्रशासनिक सेवा र दिगो विकासको अवधारणा ल्याएर नगरको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण जग निर्माण गर्ने महाअभियानमा इमान्दार भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

देशको बदलिँदो राजनीतिक परिस्थिति अनुसार पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता हो भन्ने निचोडका साथ नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलिय गठवन्धन भएको भन्दै यो विजयसँगै जनसहभागितामूलक लोकतन्त्र, जनपक्षीय संविधान र उन्नत जीवन चरित्र भएको समाज निर्माणको लागि क्रियाशील हुने बताएका छन् ।

आउने दिनहरूमा राम्रो उद्देश्य र पवित्र भावनाले काम गर्ने छौं । काम गर्दागर्दै गल्ती पनि हुन सक्छ, तर खराब नियतले केही गर्ने छैनौं । त्यसबेला संचार जगत, नागरिक समाज र नगरवासीले हामीलाई सचेत र स्वच्छ आलोचना गरी सही बाटोमा लाग्न प्रेरित गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।

तपाईँहरूले हामीमाथि यत्रो भरोसा जनाउनु भएको छ, त्यसको लागि नगरपालिकालाई संस्थागत र पारदर्शी रुपमा संचालन गर्न सबै नगरवासीको सहयोग चाहान्छांै । हामी सबैलाई सर्वविदितै छ देशको बदलिँदो राजनीतिक परिस्थिति अनुसार पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता हो भन्ने निचोडका साथ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट बागलुङ नगरपालिकामा हामीले मेयर, उपमेयर र सबै वडामा उम्मेदवारी दिएका थियांै ।

विगतमा बागलुङ नगरपालिकाले जनअपेक्षा अनुसारको सेवा प्रवाह नसकेका कारण नगरवासीमा छाएको निराशाको अन्त्य गर्दै समृद्ध र सुन्दर नगरपालिका निर्माणको लागि हाम्रो क्षमता र हैसियत अनुसार लागि पर्ने बताएका छन् । गाउँ र सहरको विकासको खाका कोरेर गरिबी निवारण, रोजगारी सिर्जना, आर्थिक र सामाजिक विकास र बागलुङ नगरलाई पर्यटकीय तथा व्यावसायिक गन्तव्यको रुपमा विकास गर्न नयाँ लगानीसमेत भित्राउने कार्यक्रम ल्याउनेछांै ।

गरिबीको रेखामुनी भएका जनतालाई शिक्षा र स्वास्थ्यमा प्रयाप्त सुविधा दिने र आय आर्जनमा जोड्ने कोशिस गर्ने जनाएका छन् । विसं २०४९, २०५४ र २०७४ को स्थानीय तह निर्वाचनमा विजयी हुनुभएका जनप्रतिनिधिले बागलुङ नगरपालिकाको हितमा ल्याएका विकासका खाका र संचालन गरेका दीर्घकालिन योजना,कार्यक्रमहरुलाई हामीले निरन्तरता दिने बताए । कार्यक्रम उपमेयर राजु खड्काको धन्यवाद मन्तव्य र पत्रकार महासंघका पूर्वअध्यक्ष तथा नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung