काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतले पेशी तोकेको समाचारलार्ई विभिन्न देशका संचार माध्यमहरुले समाचार प्रकाशित गरेका छन् । प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतले पेशी तोकेको बारे बेलायती समाचार एजेन्सी रोयटर्सले महत्व दिएर लेखेको छ।
रोयटर्सले प्रचण्डलाई नेपालमा भएको दश वर्ष युद्धका कमान्डर भन्दै समाचारमा उल्लेख गरेको छ । यस्तै भारतीय अखबार इन्डियन एक्सप्रेस र एबीपी न्यूजले सर्वोच्च अदालतले पेशी तोकेको बारे समाचार प्रकाशित गरेको छ ।
न्यायाधीशहरु ईश्वर खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न आदेश दिएको थियो ।सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रज्ञा भवनमा आइतवार गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी प्रचण्ड, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, डा बाबुराम भट्टराईसहितले एकै आवाजमा मुद्दा दर्ताको उक्त कदमको विरोध गरेका छन्।
माओवादी महासचिव देव गुरुङले आइतवार मात्रै एक विज्ञप्ति निकालेर सर्वोच्चले द्वन्द्वकालीन मुद्दाको आडमा सर्वोच्चले संक्रमणकालीन न्यायमाथि खेल्न खोजेको जनाएको छ।यस विषयमा प्रधानमन्त्री प्रचण्डको आह्वानमा मङ्गलवार बालुवाटारमा बैठक बोलाइएको थियो ।
सङ्क्रमणकालीन न्यायबारे हाल भइरहेको चर्चाबारे गम्भीर ध्यानाकर्षण भएको जनाउदै शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्न हामी एकमत भएको आठ दलको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।













































































































































































































