२ जेष्ठ २०८१, बुधबार

 

बागलुङमा निर्माण सम्पन्न आधुनिक बसपार्क तत्काल संचालनमा ल्याउन स्थानीयको माग

- बसपार्कको समस्या समाधान गर्न गम्भीर भएर लाग्छु - नगरप्रमुख श्रेष्ठ

बागलुङ। बागलुङको उपल्लाचौरमा निर्माण भएको आधुनिक बसपार्क तत्काल संचालनमा ल्याउन स्थानीयले माग गरेका छन् । नव निर्मित बसपार्क सन्चालन तथा जग्गा व्यवस्थापन सम्बन्धमा बागलुङ नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम स्थानीयले निर्माण थालेको २१ वर्षसम्म पनि बसपार्कले पूर्णता नपाउनु दुखद भएको भन्दै तत्काल संचालनमा ल्याउन माग गरेका हुन् ।

बागलुङमा बसपार्क बनाउन २०५९ सालमा ३६ जना स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट १७ रोपनी जग्गामा बसपार्क निर्माण भएको छ ।उपल्लाचौर स्थित दावगरामा निर्माण भएको आधुनिक बसपार्क पहुँचमार्ग अभावमा प्रयोगविहीन भएको भन्दै पहुचमार्ग विस्तार गरि तत्काल संचालन गर्न जग्गा धनीर स्थानीयले माग गरेका छन् ।

बसपार्क बनि सकेकोले सम्झौता अनुसार आफूहरुलाई जग्गा दिनु पर्ने जग्गा धनीहरुले माग गरेका छन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा रहेको जग्गा एकीकृत गरेर स्थानीयले बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएको र राज्यको करोडौ लगानी भएको क्षेत्रमा नगरपालिकाले प्रभावकारी काम गर्न नसक्दा ढिलाई भएको भन्दै तत्काल सुचारु गर्नुपर्ने धारण राखेका छन् ।

कार्यक्रममा गण्डकी धौलागिरी यातायात प्रालिका अध्यक्ष उमेश केसी, स्थानीय तथा जग्गादाता सन्तोष जिसी, विजुला शर्मा,खिमलाल सापकोटा,भिम वहादुर खत्री, बाबुराज कार्की, सुवास केसी लगाएतले प्रश्न गरेका थिए ।

सो अवसरमा बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठले सम्पन्न भैसकेको नयाँ बसपार्क सञ्चालनका लागि भएका विभिन्न समस्याहरु छिटटै समाधान गरी बसपार्क सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो । यसको लागि सबै सरोकारवालाहरुसँग गहन संवाद गरेर यसको निकास निकाल्न आफू लागि पर्ने नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

जग्गा धनीहरुले पवित्र मनले जग्गा दान गरेर आज बसपार्क बनेको छ त्यसको लागि सबै जग्गा धनीहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु । यो बसपार्क समग्र धौलागिरिका जनताहरुको लागि ठूलो अवसर लिएर आएको छ । यसको सदुपयोग तत्काल गर्नको लागि सबैले आफनो तर्फबाट सकरात्मक प्रयास हुनु पर्ने नगर प्रमुख श्रेष्ठले. बताउनु भयो ।

कोराला नाका, कालिगण्डकी करिडोर र मध्यपाहाडि लोकमार्ग बागलुङ नगरसँग जोडिएकोले बसपार्कको समस्या समाधान गरी संचालनमा ल्याउन सके यसको प्रतिफल सबैले पाउने, यसको लागि आफू गम्भीर भएर लागेको श्रेष्ठले बताउनु भयो ।

सात करोड ६६ लाख लागतमा फेवा आसीस जेभी पोखराले बसपार्क तयार गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनु भयो । बसपार्क क्षेत्रमा टर्मिनल, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङ, ग्यारेज निर्माण सकिएकोले अब जग्गा व्यवस्थापनको काम बाँकी रहेकोले छिट्टै समाधान गरिने बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका बागलुङका प्रमुख अमर थापाले जनताको चाहना अनुसार बसपार्क चलान आफूले सक्दो पहल गर्ने बताउनु भयो । बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बसपार्क संचालनमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने पहल थाल्ने बताउनु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं ४ का निवर्तमान वडा अध्यक्ष ध्रुर्व केसी, निर्माण व्यवसायी भुपेन्द्र खड्का लगाएतले बोल्नु भएको थियो । कार्यक्रम नगर प्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता, उप प्रमुख राजु खड्काको स्वागत र पत्रकार तारानाथ आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

नगर विकास कोषले नौ करोड चार लाख ऋण दिएपछि विसं २०७५ मा एक वर्षभित्रै निर्माण सक्ने गरी सुरु भएको काम तीन पटक म्याद थपेर काम सकिएको हो । बसपार्क क्षेत्रमा टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङ र ग्यारेज निर्माणको भएका छन् ।

नगर विकास कोषले रु नौ करोड चार लाख ऋण दिएपछि निर्माणको काम सुरु भएको थियो । हाल सञ्चालनमा रहेको चिप्लेटी बसपार्कमा पर्याप्त बस राख्न पुगेको छैन ।बसपार्क निर्माण भएको दुई वर्ष बिति सक्दा समेत प्रयोगमा ल्याउन सकिएको छैन ।

बसपार्क निर्माणका लागि एकीकृत गरिएको स्थानीयको ५९ रोपनी जग्गामध्ये १७ रोपनी बसपार्क निर्माणका लागि प्रयोगमा आएको भए पनि बाँकी जग्गा जग्गा धनीलाई फिर्ता गर्न बाँकी छ ।निर्माण सम्पन्न भएर प्रयोग विहीन भएको आधुनिक बागलुङ बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले छलफल थालेको छ।

पहिलो पटक बसपार्कको विषयमा सबै सरोकारवालाहरुलाई बोलाएर सार्वजनिक सुनुवाई र छलफल कार्यक्रय गर्नु ज्यादै सकरात्मक कुरा भएको भनि सहभागिहरुले नगर प्रमुख श्रेष्ठ र बागलुङ नगरपालिकालाइ धन्यवाद दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्