१६ बैशाख २०८१, आईतवार

 

समस्याग्रस्त १५ सहकारीमध्ये तीनले फर्काए बचतकर्ताको रकम

काठमाडौं । देशभरका १५ वटा सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । त्यसबाहेक पनि आफ्नो बचत फिर्ता नपाएको भन्दै बचतकर्ताहरूले प्रहरी तथा नियमन निकायमा उजुरी दिने क्रम बढ्दै गएको छ । तर, समस्याग्रस्त सहकारीमा फसेको बचतकर्ताको रकम फिर्ता गराउन गठित सहकारी व्यवस्थापन समितिले ३ वटा सहकारीको बचत फिर्ता गरेको छ भने ओरेन्टल सहकारीबाट साना बचतकर्ताको रकम फिर्ता गराउन थालेको छ ।

समस्याग्रस्त १५ सहकारीमध्ये ३ वटाबाट बचतकर्ताले रकम फिर्ता पाएका छन् । सहकारी व्यवस्थापन समितिका अनुसार कुबेर सहकारीका १० जनाले ५७ लाख र स्ट्याण्डर्ड मल्टिपर्पोज सहकारीका १६ जनाले ७५ लाख फिर्ता पाएका छन् ।

त्यस्तै चार्टर्ड सेभिङ एन्ड क्रेडिट सहकारीका १४ जनाले ११ करोड रकम फिर्ता पाएका छन् । समितिले ११ वर्षयतादेखि रकम फिर्ता दिन नसकेको ओरेन्टल सहकारीबाट पनि बचत फिर्ता गराइरहेको छ । १ लाखभन्दा कम बचत रकम रहेका ५ सय १९ जनाको २ करोड फिर्ता गरिसकिएकोमा थप ८४ जनाको २१ करोड फिर्ताको प्रक्रिया पनि अघि बढाइएको समितिले जनाएको छ ।

बचतकर्ताहरूले ओरेन्टल सहकारीबाट ४ अर्ब १९ करोड रुपैयाँ ११ वर्षदेखि फिर्ता पाउन सकिरहेका थिएनन् । बचत फिर्ताको माग गर्दै उनीहरू मंगलबार पनि समितिको कार्यालय पुगेका थिए । पूर्वसञ्चालक सुधीर बस्नेतसमेत संलग्न रहेको छलफलमा बचतकर्ताहरू बस्नेतको आश्वासनमा अझै ढुक्क देखिएका थिएनन् ।

बस्नेतले बचतको सट्टा भक्तपुरको गुण्डुमा रहेको आफ्नो जग्गा दिने योजना अघि सारेका छन् ।

चालु आर्थिक वर्षका ५ महिनामा थप ३ वटा सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । जसमध्ये पशुपति सेभिङ एन्ड क्रेडिटमा ९ सय ४० जनाले आफ्नो बचत फसेको दाबी गरेका छन् । रकम फिर्ता गराउन समितिले सञ्चालक तथा ऋणीहरूको जग्गा तथा अन्य सम्पत्ति खोजिरहेको छ ।

यस्तै, समितिले तुल्सी सहकारीका सुदूरपश्चिमका सबै शाखा कार्यालय र उपत्यकाका १० शाखा कार्यालय बन्द गराएको छ । त्यहाँ अहिलेसम्म ५५ सय जनाले दाबी पेस गरेका छन् भने शिवशिखर सहकारीमा दाबी पेस गर्ने सूचना बुधबार निकाल्ने तयारी छ । बचतकर्ताको रकम फिर्ता गराउने समितिको प्रगतिमा विज्ञहरू त्यति सन्तुष्ट देखिँदैनन् ।

सहकारीहरूले बचतकर्ताको रकम संकलन गरी जग्गा किन्ने र त्यस्तो जग्गा धितो राखेर बैंकबाट ऋण लिने गरेको देखिएको छ । बैकंले त्यस्ता धितो लिलामी गरिदिँदा समितिलाई बचत फिर्ता गर्न सकस देखिँदै आएको छ ।

कान्तिपुर बाट

प्रतिक्रिया दिनुहोस्