बागलुङ । बागलुङमा बाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाली सेनाको श्री २३ नम्बर बाहिनी अड्डाको आयोजनामा सुरु भएको बाहिनीपति ट्रफी प्रतियोगिता २०८१मा साबिकको धौलागिरि अञ्चल भित्रका नेपाली सेनाका गण तथा गुल्महरु सहभागि छन् ।
प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र बाहिनीपति सहायक रथी जगतबहादुर पौडेलले उद्घाटन गर्नु भएको हो ।
प्रतियोगितामा फुटबलतर्फ बागलुङस्थित श्रीमेयर गण, म्याग्दीको शत्रुभञ्जन गण, मुस्ताङको नारायणदल गण र पर्वतको नयाँ रणभीम गुल्म गरी ४ टिमले लिग तथा नकआउट खेल खेल्नेछन् । भलिबलतर्फ ती टिमबाहेक २३ नम्बर बाहिनी गरी ५ टिमले भाग लिने छन् ।
प्रतियोगितामा बास्केटबल, एथलेटिक्स, पौडी, तेक्वान्दो र बक्सिङ प्रतियोगिता समेत हुने छ । यो प्रतियोगितामा उत्कृष्ठ छनौट भएका टिम तथा खेलाडीलाई पृतनापति ट्रफि प्रतियोगितामा पठाइने छ । पृतनापति ट्रफी प्रतियोगितामा उत्कृष्ट हुने टिम र खेलाडीले प्रधानसेनापति ट्रफी प्रतियोगितामा भाग लिनेछन् ।
जेठ २५ गतेसम्म संचालन हुने प्रतियोगिताका लागि चार जिल्लाका २ सय २२ जना खेलाडी जम्मा भएका छन् । उद्घाटन कार्यक्रममा विभिन्न जातजातीको भेषभुषासहित झाँकी समेत प्रर्दशन गरिएको थियो ।
खेलमार्फत सेनाका सबै दर्जालाई अनुशासनमा राख्ने, स्वच्छ प्रतिष्पर्धा गरेर राष्ट्रिय तहका खेलाडी उत्पादन गर्ने काममा प्रतियोगितालाई अवसरको रुपमा लिएको सहायक रथी पौडेलले बताउनु भयो । बिहीबार भएको उद्घाटन खेलमा श्रीमेहर गण र नयाँ रणभिम गुल्मले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन् ।















































































































































































































