बागलुङ । बागलुङबाट वैदेशिक रोजगारीमा जानेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०८०।०८१ मा जिल्लामा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको संख्या बढी रहेको छ ।
जिल्लामा चालु आर्थिक वर्षको असार मसान्तसम्म कुल ८ हजार ४११ जनाले नयाँ नागरिकता बनाउँदा १३ हजार ५९ जनाले राहदानी ९पासपोर्ट० बनाएका छन ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा नयाँ नागरिकता बनाउने भन्दा ४ हजार ६४८ जना बढि नागरिकले राहदानी बनाएको तथ्याङ्क रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनु भयो ।
जिल्लाबाट उच्च शिक्षा अध्ययन गर्न र रोजगारीका लागि विदेश जानेको संख्या बढिनै रहेको छ । यसका साथै पछिल्लो समयमा छोराछोरी विदेश भएकाको आमा बाबा भेटघाटका लागि जाने, श्रीमान विदेश गए श्रीमतीले राहदानी बनाईराख्ने कारणले पनि राहदानी लिन संख्या वृद्धि हुने गरेको अनुमान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङ र इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट नागरिकता र राहदानी लगायतका सेवाहरु नियमित प्रवाह हुँदै आएका छन ।
जिल्लामा वैवाहिक अंगिकृत नागरिकता लिने १० जना छन भने गैरआवसीय नेपाली नागरिकता लिने २१ जना रहेको छन ।


जिल्लामा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिनेको संख्या बढि नै रहेको छ । प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार चालु आर्थिक वर्षमा कुल ६ हजार ६९२ जनालाई नागरिकताको प्रतिलिपी प्रदान गरिएको छ । नयाँ नागरिकताको हिसाबमा प्रतिलिपि भने बढि नै भएको र यसको कारणको खोजी गरिएको प्रजिअ सुवेदीले बताए ।
प्रशासन कार्यालयले आर्थिक वर्षको अन्तिम दिन पत्रकार सम्मेलन गरी वर्ष भरीको प्रगति विवरण सार्वजनिक गरेको थियो ।
जिल्लामा नाबालक परिचय पत्र बनाउनेको संख्या १ हजार २३७ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । राहदानी गराउन आएका अधिकाशं नागरिकले आफ्ना छोराछोरी पनिसँगै विदेश लानका लागि नाबालक परिचय पत्र बनाएर राहदानी गराउने गरेको बरालले बताए ।
राहदानी लिनेको संख्या बढेसँगै राजस्व संकलन पनि वृद्धि आएको छ । राहदानी दस्तुरबाट वार्षिक करोडौँ रुपियाँ राजस्व संकलन हुने गरेको छ । प्रशासन कार्यालयका अनुसार राहदानी सहित अन्य विभिन्न विषयमा कुल ५ करोड ८७ लाख ५८ हजार ४२५ रुपैयाँ राजश्व संकलन भएको हो ।
पछिल्लो समयमा कार्यालयमा राष्ट्रिय परिचयका लागि सेवाग्राहीको भिड नै लाग्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी बराल बताउँछन । चालु वर्षको अन्तिमसम्म जिल्लामा कुल १९ हजार ७४५ परिचयपत्रको विवरण दर्ता भएको र १ हजार ३२२ परिचयपत्र वितरण भएका छन ।
प्रशासनले यस वर्ष ५ करोड ३२ लाख ३२ हजार १० रुपैयाँ क्षतिपुर्ति तथा राहत वितरण गरेको छ भने वैदेशिक रोजगारीको क्षतपुर्ति बापतको कुल ४६ लाख ३४ हजार ९६ रुपैयाँ राहत प्रदान गरेको सहायक प्रजिअ बरालले जानकारी दिए ।
त्यसैगरी १५ लाख ६१ हजार रुपैयाँ विपद राहत वितरण गरिएको छ भने द्धन्दपीडितका लागि ५४ हजार रुपैयाँ राहत वितरण गरिएको छ ।
कार्यालयको समन्वयमै ४० लाख ५० हजार सडक दुर्घटनाको विमा वापतको भुक्तानी गरिएको छ ।
प्रशासन कार्यालयले २४ वटा मुद्धा दर्ता भएकोमा २२ वटा फैसला गरेको छ भने, ८६ वटा विभिन्न उजुरु दर्ता र कारबाही गरेको छ । त्यसैगरी २७ वटा नयाँ संस्था दर्ता भएका छन भने, १६९ वटा संघ संस्था नविकरण भएको कार्यालयको तथ्याङ्क रहेको छ ।
जिल्लामा ३१३ वटा अपराधिक घटना भएको प्रमुख जिल्ला अधिकारी सुवेदी बताउँछन । कार्यालयको सत प्रतिशत भौतिक प्रगति भएको छ भने ९९ दशमलव ३० प्रतिशत वित्तीय प्रगति भएको छ ।
प्रशासन कार्यालय मातहतमै रहेको आप्रवासी श्रोत केन्द्रको सहयोगमा वैदेशिक रोजगारीमा जानकै लागि भनी राहदानी बनाउने आउने १० हजार ३६४ जना सेवाग्राहीलाई सूचना तथा परामर्श सेवा प्रदान गरिएको छ ।
यसका साथै जिल्ला प्रशासन कार्यालय बागलुङले जिल्लाको शान्ति सुरक्षालाई अमनचयन राख्नका लागि विभिन्न स्थानीय तहसँग समन्वय गरेको छ भने कार्यालयलाई थप प्रविधि मैत्री बनाएको छ ।
कार्यालयमा स्वास्थ्य परीक्षण कक्ष, अपाङ्गको लागि ह्विलचियर व्यवस्थापन, अपराध नियन्त्रण, बजार अनुगमन लागू औषध दुव्र्यसन नियन्त्रणका लागि सचेतना लगायतका कार्यक्रम संचालन गरिएको छ ।
सेवाग्राहीको सहजका लागि मिनी लाईब्रेरी, फ्रिवाईफाई, र परिचयपत्र बनाउन आउने जेष्ठ नागरिकका छुट्टै कक्षाको व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी सुवेदी बताउँछन ।
जिल्लामा यस वर्ष ५८ जना विशिष्ठ व्यक्तिले भ्रमण गरेको प्रशासनले जनाएको छ ।













































































































































































































