३ श्रावण २०८३, आईतवार

 

जिल्ला प्रशासन कार्यालय बागलुङ बन्यो कार्यसम्पादन मूल्यांकनमा देशकै तेस्रो

बागलुङ । बागलुङको जिल्ला प्रशासन कार्यालय देशभरका जिल्ला प्रशासन कार्यालय मध्ये कार्यसम्पादन मूल्यांकनमा तेस्रो भएको छ ।

गृहमन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौता मूल्यांकनमा अन्य ७४ वटा जिल्लालाई उछिन्दै बागलुङ उत्कृष्ट बनेको हो।

जसअनुसार आर्थिक वर्ष २०८०र८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा बागलुङ तेस्रो भएको हो।

गृह मन्त्रालयले हरेक वर्ष कार्यसम्पादन मुल्याङ्कनको आधारमा ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयको नतिजा सार्वजनिक गर्दछ ।

मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय बागलुङले १०० पूर्णाङ्कमा ९७।६२५ प्राप्त गर्दै तेस्रो भएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा आउने मुद्धाहरुको व्यवस्थापन, पीडितहरुको व्यवस्थापन, विपद् व्यवस्थापन, संघ संस्थाहरुसँगको समन्वय, कारागार र बाल सुधारगृहको व्यवस्थापन, शान्ति सुरक्षा तथा सुशासन, लागुऔषध न्यूनिकरण, परियोजनाहरुको निरिक्षण, सार्वजनिक सम्पत्तिको सुरक्षा, राजमार्गहरुको व्यवस्थापन लगायत जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने कामहरुको मूल्यांकनको आधारमा गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई अंक दिने गर्छ।

प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्ला प्रशासन कार्यालयका कर्मचारी, जिल्लाभित्र रहेका सरकारी तथा गैरसरकारी कार्यालय, नागरिक समाज, सामाजिक संघसंस्था, जनप्रतिनिधिहरु, स्थानीय पालिका, उद्योगी व्यवसायी, सञ्चार जगत तथा बागलुङवासीकै सहयोग र सहकार्यबाट बागलुङ जिल्ला प्रशासन कार्यालय उत्कृष्ट हुन सफल भएको बताउनु भयो।

प्रशासनबाट सेवाग्राहीले पाउने सेवालाई अझ प्रभावकारी बनाउनको प्रशासनको सिंगो टिम सक्रिय भएर लागेको प्रजिअ सुवेदीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung