बागलुङ । जिल्ला विपद व्यवस्थापन समिति बागलुङले बडिगाड पहिरोले मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।
आइतबार जिल्ला विपद व्यवस्थापन समिति बागलुङका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको नेतृत्वमा गएको टोलिले पहिरोमा ज्यान गुमाएका ११ जनाको परिवारलाई राहत रकम वितरण गर्नु भएको हो ।
प्रति मृतक परिवारलाई संघीय सरकार मार्फत दुई लाख र प्रदेश सरकारमार्फत पचास हजार गरी प्रति परिवार दुई लाख पचास हजारको दरले सहयोग रकम हस्तान्तरण गरिएको हो ।
वेपत्ता भएको परिवारले साउन ३२ गते राहत पाउने छ । सिमलतारको घटनापछि वेपत्ता परिवारले वेपत्ता भएको १० दिनपछि मृतक परिवार सरह राहत पाउने सरकारले व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनु भयो ।
कार्यक्रममा बडिगाड गाउँपालिका – १० आरुपाटाका वडा अध्यक्ष वीरेन्द्र वुढा, प्रदेश सांसद कुशुम बुढा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको अध्यक्षता र सञ्चालन जिल्ला प्रशासन कार्यालय बागलुङका नायव सुब्बा रामप्रसाद उपाध्यायले गर्नु भएको थियो ।
गत २२ गते रातिदेखि परेको अविरल वर्षापछिको पहिरोले बडिगाड गाउँपालिका – ९ बलघाँस र १० आरुपाटामा ११ जनाको मृत्यु भएको थियो भने अझै एक जना बेपत्ता छन् ।
पहिरोले चार घर पूर्ण रुपमा नष्ट भएको र ६२ परिवार प्रभावित भएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनु भयो ।
अविरल वर्षाका कारण विस्थापित हुन पुगेका परिवारलाई अस्थायी रूपमा सामुदायिक विद्यालय र आफन्तको घरमा राखिएको छ ।






















































































































































































































