बागलुङ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ २१ औँ निजामती सेवा दिवस बागलुङमा मनाइएको छ ।
दिवसको अवसरमा बागलुङ जिल्लाभरका कार्यालयहरूमा सरसफाई तथा स्वच्छता सम्बन्धी सूचकहरुको आधारमा गरिएको छनौटमा स्वास्थ्य कार्यालय बागलुङ सर्वोत्कृष्ट हुन सफल भएको भन्दै प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
निजामती दिवसको अवसरमा भाद्र १९ र २० गते भएको कर्मचारीहरुका बिचमा रुद्रेपिपल कभर्ड हल बागलुङमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको थियो ।
दिवसको अवसरमा धौलागिरि आयुर्वेद अस्पतालको योग हलमा योग शिविर आयोजना गरिएको थियो ।
शिविरमा करिव ४० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।योग शिविरको सहजिकरण तथा व्यवस्थापन धौलागिरि आयुर्वेद अस्पताल डा. सरोज पन्थी र डा. कमल विक्रम पौडेलले गरेका थिए ।
दिवसमा जिल्ला प्रशासन कार्यालय बागलुङमा कार्यरत नायव सुब्बा लाल प्रसाद शर्मालाई उत्कृष्ट कर्मचारीको रुपमा पाँच हजार नगद र सम्मानपत्रले पुरस्कृत गरिएको थियो ।
उनलाई एक वर्षको कार्य मूल्याङकनको आधारमा पुरस्कृत गरिएको हो ।
दिवसको अवसरमा कर्मचारीहरुको र्यालीले बजार परिक्रमा गरेको थियो ।कार्यक्रम जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी श्रीमान् नेत्र प्रसाद सुवेदीको अध्यक्षतामा भएको थियो ।














































































































































































































