काठमाडौं । वामपन्थी नेता अनुरा कुमारा दिशानायके ९एकेडी० नयाँ राष्ट्रपति निर्वाचित भएका छन् । ७५ वर्षसम्म श्रीलंकाको शासन सत्ताको वरिपरि रहेकाहरुलाई रोकेर दिशानायकेलाई राष्ट्रपति चुन्ने श्रीलंकाली जनताको निर्णय २०२२ को विद्रोहको निरन्तरता भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
आर्थिक संकट चुलिएपछि श्रीलंकामा सुरु भएको जनप्रदर्शनले दुई वर्षअघि श्रीलंकामा राजापाक्षे परिवारको शासन अन्त्य गरेको थियो । प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिनु परेको थियो भने उनका भाइ राष्ट्रपति गोटाबाया राजपाक्षे १४ जुलाई २०२२ मा देश छोडेर भाग्न बाध्य भए । त्यसपछि संसदले ६ पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमासिंघेलाई नयाँ राष्ट्रपति बनायो ।
त्यसबेला अधुरो रहेको शासन सत्तामा परिवर्तनको चाहना श्रीलंकाली नागरिकले शनिबार सम्पन्न राष्ट्रपति निर्वाचन मार्फत पूरा गरे ।
नयाँ राष्ट्रपतिका लागि भएको निर्वाचनमा निवर्तमान राष्ट्रपति विक्रमासिंघे आफैं मैदानमा उत्रिएका थिए । उनी युनाइटेड नेशनल पार्टीका हुन्, तर अरुको समर्थन जुटाउन स्वतन्त्र उम्मेदवार बने ।
संकटको बेला शासन सत्ता सम्हालेका उनले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०सँग नयाँ आर्थिक सहायताका लागि सहमति जुटाएका थिए । श्रीलंकाको अर्थतन्त्रलाई फेरि लयमा फर्काउन आफूले गरेको प्रयासलाई पूर्णता दिन उनले मत मागेका थिए ।
राष्ट्रपतिका अर्का उम्मेदवार सजीथ प्रेमदासा पनि राजनीतिक घरानाकै हुन् । श्रीलंकाका तेस्रा राष्ट्रपति रणसिंघे प्रेमदासाका छोरा उनी विपक्षी दलका नेता हुन् ।
तर चुनावमा बाजी मारे, दिशानायकेले । उनी न कुनै राजनीतिक घरानाका हुन्, न राजधानी कोलम्बोका ।
श्रीलंकाको नेशनल पिस काउन्सिलका निर्देशक डा। जेन परेरा भन्छन्, ‘मानिसहरुले पूर्ण परिवर्तन चाहे । मुख्य कुरा भ्रष्टाचार अन्त्य होस्, पछिल्लो ७५ वर्षमा शासन सत्तामा रहेकाहरु जानुपर्छ र नयाँ आउनुपर्छ भन्ने भावना देखियो ।’
पछिल्ला महिनाहरुमा भएका मत सर्वेक्षणहरुले पनि अरु उम्मेदवार भन्दा एकेडी अगाडि देखिएका थिए । मत गणनाको सुरुवातदेखि नै अग्रता लिएका उनले अन्तिम गणना सकिंदा उनी ४२।३१ प्रतिशत मतका साथ पहिलो स्थानमा रहे । उनलाई पछ्याइरहेका प्रेमदासाले ३२।७६ प्रतिशत मत पाए । निवर्तमान राष्ट्रपति विक्रमासिंघेले मात्र १७।२७ प्रतिशत मत पाउँदा महिन्दा राजापाक्षेका छोरा नमलले जम्मा २।५७ प्रतिशत मत पाए ।
श्रीलंकामा राष्ट्रपति चुनिन ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएपछि निर्वाचन आयोगले दोस्रो चरणको मत गणना गर्ने भयो, जसमा दिशानायके र प्रेमदासा मात्र उम्मेदवार रहे । श्रीलंकाको इतिहासमा पहिलो पटक भएको दोस्रो चरणको मत गणनाबाट दिशानायके राष्ट्रपति निर्वाचित भएका छन् ।
विगत बिर्सिएर रोजेको परिवर्तन
कोलम्बोबाट करिब १७७ मिलोमिटर टाढा थम्बुथेगामा भन्ने स्थानमा ग्रामीण मध्यम वर्गीय परिवारमा जम्मिएका दिशानायकेले विज्ञानमा डिग्री हासिल गरेका छन् । उनी स्कुले जीवनबाट जेभीपी ९जनता विमुक्ति पेरामुना० मा आवद्ध भएका थिए ।
मानिसहरुको अपेक्षा धेरै छ, तर आईएमएफले यति कडा शर्तहरु राखेको छ कि त्यो पूरा गर्न सहज छैन – श्रीलंकाका लागि नेपाली पूर्वराजदूत विश्वम्भर प्याकुरेल भन्छन् ।
जेभीपीले १९७१ र १९८० को दशकको अन्त्यमा श्रीलंकामा हिंसात्मक विद्रोह गरेको थियो । १९८८–१९८९ मा राष्ट्रपति जेआर जयवर्धने र आर प्रेमदासाको शासन सत्ता ढाल्न भन्दै गरेको विद्रोह श्रीलंकाको इतिहासमा सबभन्दा रक्तपातयुक्त थियो ।
विद्रोहीहरुले राजनीतिक विरोधी मात्र होइन, बुद्धिजीवी, कलाकार, ट्रेड युनियनमा आवद्ध भएकाहरुको समेत हत्या गर्यो । विद्रोह दबाउन सरकारले चलाएको कारबाहीमा पनि कम्तीमा ६० हजार मानिस मारिए । जेभीपीका संस्थापक रोहाना विजेविरा समेत कारबाहीमा मारिएका थिए ।
जेभीपी हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आएपछि दिशानायके पोलिटब्यूरो सदस्य बने । सन् २००० मा सांसद र २००४ मा छोटो समयका लागि मन्त्री समेत बने । २०१४ मा जब उनी जेभीपीको प्रमुख बने, त्यसयता उनले आफ्नो दललाई विगतको हिंसात्मक आन्दोलनबाट टाढा राख्न खोजेका छन् ।
२०१४ मे मा पार्टीको नेतृत्वमा आएपछि उनले पार्टीले विगतमा गरेको हिंसाप्रति माफी मागेका थिए । जेभीपीका कुनै नेताले हिंसाका लागि माफी मागेको त्यो नै अन्तिम पटक थियो । किनकि पार्टीकै केही नेता र वामपन्थीहरुले चर्को आलोचना गरेपछि दिशानायके विगतको विषयमा निकै सतर्क हुने गरेका छन् । उनले कैयौं पटक खेद व्यक्त गरेका छन्, माफी मागेका छैनन् ।
श्रीलंकामा अहिले पनि त्यो विद्रोह घाउ बाँकी छ । तर जनताले जेभीपीको रक्तपातपूर्ण विगतभन्दा दिशानायकेको भ्रष्टाचार अन्त्य गर्ने वर्तमानको नाराले मन जितेको छ ।
भ्रष्टाचार अन्त्यको एजेण्डा
आरागालया ९सिंहाली भाषामा यसको अर्थ संघर्ष हुन्छ० भनेर चिनिने २०२२ जुलाइको आन्दोलनको नेतृत्व आफूले गरेको भनेर कुनै पनि दलले औपचारिक रुपमा दाबी गरेन, तर आन्दोलनमा जेभीपीले महत्वपूर्ण भूमिका खेलेको थियो । दैनिक प्रदर्शन आयोजना गर्यो, आम अड्ताल आह्वान गर्दै सडकमा पाल टाँगेर बस्यो ।
हजारौं जनता सडकमा आएपछि तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षे मन्त्रिपरिषदका सदस्यहरुले राजीनामा दिन बाध्य भए भने उनका भाइ गोटाबाया देश छाडेर सिंगापुर पुगे । त्यहींबाट पद त्यागे ।
हालै बंगलादेशमा पनि सडक आन्दोलन चर्किएपछि त्यहाँका तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् । आन्दोलनकारी विद्यार्थीहरुको मागअनुसार सेनाले अन्तरिम सरकार बनायो, संसद भंग भयो ।
तर श्रीलंकामा भने संसद कायमै रह्यो । त्यही संसदबाट रनिल विक्रमासिंघे राष्ट्रपति बने । उनले बहुमत पाउनका लागि राजापाक्षेको पार्टीको समर्थन लिए । सेना परिचालन गरेर प्रदर्शनकारीहरुलाई सडकबाट हटाए ।
राजापाक्षे हटेको र नयाँ सरकारले इन्धनका साथै अत्यावश्यक सामग्रीहरुको कमी हटाउन प्रयास गरेपछि प्रदर्शनकारीहरु पनि आफ्नो घर फर्किए ।
तर जति समय बित्दै गयो, विक्रमासिंघेप्रति मानिसहरुको आक्रोश बढ्दै गयो । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०सँग नयाँ आर्थिक सहायताका लागि सहमति गरेका उनको सरकारले कर बढाएको छ र, राज्यको तर्फबाट दिइने अनुदान सहायता कटौती गर्यो । खासगरी इन्धन र विद्युतको सहायता कटौती हुँदा निम्न र मध्यमवर्गीय परिवार नराम्रोसँग प्रभावित भए ।
अनि राजापाक्षे परिवारमाथि कुनै कारबाही भएन । जबकि आम मानिसले श्रीलंकाको आर्थिक संकटका लागि राजापाक्षे परिवारलाई जिम्मेवार मानेका थिए र उनीहरुमाथि कारबाही होस् भन्ने चाहेका थिए ।
यही बेला दिशानायके र उनको दल भीजेपीले सामाजिक न्याय र भ्रष्टाचार विरोधी नारा दियो । विद्रोहपछि पनि राजनीतिक संस्कारमा कुनै परिर्वतन नआएको प्रति निराश नागरिकलाई गोलबद्ध गर्दै भीजेपी प्रमुख राजनीतिक शक्तिका रुपमा उदायो ।
सेन्टर फर पोलिसी अल्टरनेटिभ्सका कार्यकारी निर्देशक पाकियासोथी साराभानमटूका अनुसार शासनमा बदलाव देशको आम भावना थियो र उनीहरुले दिशानायकेलाई आफूहरु मध्ये एक माने ।
‘उनको अभियानको मुख्य मुद्दा भ्रष्टाचार विरोधी छँदै थियो’ उनले अलजरिजारसँग भनेका छन्, ‘सबभन्दा महत्वपूर्ण उनी कुनै वंशका थिएनन्, कोलम्बोका पनि होइनन् । त्यसैले उनलाई हामीमध्येकै एक माने ।’ अर्थात् १९४८ मा स्वतन्त्र भएयता युनाइटेड नेशनल पार्टी ९यूएनपी० र श्रीलंका फ्रिडम पार्टी ९एसएलएफपी०, उनीहरुले नेतृत्व गरेको गठबन्धनको वरिपरि घुमेको शासन सत्ता दिशानायकेलाई सुम्पिए ।
बल्ल सुरु हुनेछ चुनौती
श्रीलंकाली सञ्चारमाध्यमहरुका अनुसार नवनिर्वाचित राष्ट्रपति दिशानायकेले सम्भवतः भोलि सोमबार शपथ लिनेछन् । तर उनको कार्यकाल सहज भने हुने छैन ।
श्रीलंकाको अर्थतन्त्र अहिले पनि समस्यामै छ । दिशानायकेले आईएमएफसँग पुनः सम्वाद गर्ने बताएका छन् । विक्रमासिंघे सरकारको नीतिका कारण सबभन्दा बढी आर्थिक संकटमा परेकाहरुलाई राहत दिने वचन दिएका छन् ।
श्रीलंकाका लागि नेपाली पूर्वराजदूत एवं अर्थशास्त्री विश्वम्भर प्याकुरेल भन्छन्, मानिसहरुको अपेक्षा धेरै छ, तर आईएमएफले यति कडा शर्तहरु राखेको छ कि त्यो पूरा गर्न सहज छैन ।’
घरेलु राजनीति पनि उनको अनुकूल छैन । २२५ सदस्यीय संसदमा उनको दलको जम्मा ३ जना छन् । दिशानायकेले चुनावी अभियानका क्रममा तत्काल संसद भंग गर्ने बताएका थिए । तर सरकार गठन विना संसद भंग पनि सहज छैन ।
यही संसदबाट बन्ने सरकार दिशानायकेको अनुकूल बन्ने सम्भावना देखिंदैन ।
साथै राष्ट्रपतिले प्रधानमन्त्रीलाई बाइपास गरेर जाने अवस्था पनि संविधानले नदिएको भन्दै प्याकुरेल भन्छन्, ‘कस्तो मन्त्रिपरिषद् बन्छ, संसदको चुनावमा उनको दलको बहुमत आउँछ कि आउन्न भन्नेले धेरै अर्थ राख्छ ।’
भारत, चीन अमेरिकाको तीव्र भूराजनीतिक प्रतिस्पर्धाका बीच कूटनीतिक सम्बन्ध बनाउनुपर्नेछ । त्यसैले ६ देखि १२ महिना राष्ट्रपति दिशानायकेका लागि चुनौतीपूर्ण हुने श्रीलंकन विश्लेषकहरु बताउँछन् । साराभानमटू भन्छन्, ‘यदि ठूला माछालाई जेलमा हाल्न सकेनन् भने उनलाई समस्या हुनसक्छ ।’
उनले भारत सरकारबाट असम्भवप्रायः निमन्त्रणा पाए।
गत फेब्रुअरीमा अनुरा कुमारा दिसानायकेले नयाँ दिल्ली भ्रमण गरे। जहाँ उनले भारतका विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र अन्य वरिष्ठ कूटनीतिज्ञहरूसँग भेट गरे।
दिसानायके सरकारमा थिएनन्। २२५ सिटको संसदमा उनको पार्टीसँग जम्मा तीन सिट थियो। उनको पार्टीलाई प्रायः भारतको भूराजनीतिक शत्रु चीननिकट पनि मानिन्थ्यो।
तैपनि भारतले उनलाई महत्त्व दिएर निम्त्यायो। यो श्रीलंकामा उनको बढ्दो शक्तिको एउटा संकेत थियो। उनका चुनावी सभामा मानिसहरूको बाक्लो उपस्थिति थियो। केही सर्वेक्षणहरूले उनलाई अगाडि देखाएका थिए।
नभन्दै उनले शनिबार भएको श्रीलंकाको राष्ट्रपतिको चुनाव जितेका छन्।
राष्ट्रपति रनिल विक्रमासिंगे, राजापाक्षे परिवारका उत्तराधिकारी नमाल राजापाक्षे, विपक्षी नेता तथा पूर्वराष्ट्रपति आर प्रेमदासाका छोरा सजित प्रेमदासजस्ता चिरपरिचित उम्मेदवारलाई हराएर ५५ वर्षका अनुरा कुमारा दिसानायकेले चुनाव जिते।
सत्तामा कहिल्यै जम्न नसकेको जनता विमुक्ति पेरामुना ९जेभीपी० का नेता हुन् उनी। जसले विगतमा दुईपटक असफल हिंसात्मक विद्रोह गरेको थियो।
राजापाक्षे परिवारलाई लखेट्न भएको विद्रोहको नेतृत्व कुनै पनि दलले दाबी गरेन। तर, जेभीपीले सक्रिय सहभागिता जनाएको थियो। राजापाक्षेले राजीनामा दिएपछि उत्पन्न भएको शक्ति शून्यताको अवस्थामा दिसानायके हस्तक्षेपकारी नेताका रूपमा उदाएका थिए। उनले जनतालाई व्यापक परिवर्तन, सामाजिक न्याय र भ्रष्टाचारविरुद्ध उभिन आह्वान गरेका थिए।
यससँगै उनको पार्टी विश्वसनीय र प्रमुख राजनीतिक शक्तिका रूपमा उदायो। पार्टीसँगै दिसानायकेको व्यक्तिगत आकर्षण पनि चुलियो।
दिसानायके नेसनल पिपुल्स पावर नामक गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका थिए। गरिबीमा रहेका जनतालाई सहयोग गर्ने र भ्रष्टाचारीलाई कारबाही गर्ने वाचाका कारण उनले सबैभन्दा बढी मत पाएको विश्लेषण गरिएको छ।
गरिब परिवारमा जन्मेका दिसानायके
कोलम्बोबाट करिब १७७ सय किलोमिटर टाढा रहेको थम्बुट्टेगामा नामक स्थानमा गरिब परिवारमा जन्मेका दिसानायके आफ्नो गाउँबाट विश्वविद्यालयमा भर्ना हुने पहिलो विद्यार्थी थिए।
पहिले युनिभर्सिटी अफ पेरादेनियामा भर्ना भएका उनले आफूमाथि राजनीतिक विचारका कारण धम्की आएपछि युनिभर्सिटी अफ केलानिया सरेको बताएका छन्।
विज्ञान विषयमा उनले १९९५ मा स्नातक पास गरे र राजनीतिमा सक्रिय भए। १९८७ मै उनी जेभीपीमा आबद्ध भइसकेका थिए।
‘म जागिर खान र सेटल हुन कहिल्यै इच्छुक थिइनँ। राजनीतिमा मेरो जोस थियो। म सधैँ यो समाजलाई बदल्न र सुधार्न चाहन्थेँ,’ उनले भनेका छन्।
१९९८ सम्ममा उनी जेभीपीको निर्णायक समिति पोलिट्ब्युरोमा पुगिसकेका थिए। तर, सन् २००० मा सांसद चुनिएपछि उनको खास राजनीतिक आरोह सुरु भयो।
जेभीपीले २००४ मा श्रीलंका फ्रिडम पार्टीसँग गठबन्धन गर्यो। त्यसमा उनले महत्त्वपूर्ण भूमिका खेले र चन्द्रिका कुमारातुंगाको सरकारमा कृषिमन्त्री पनि बने। तर, तमिल टाइगर्स र सरकारबीच सुनामी राहतका लागि भएको सहमतिमा असहमति जनाउँदै उनले र उनका पार्टीका मन्त्रीहरूले राजीनामा दिएका थिए।
२०१४ मा उनी पार्टीको नेता भए। नेतृत्वमा पुगेपछि उनले पार्टीको छवि बदल्ने कोसिस गरे।
१९७१ र १९८७ मा दुईपटक हिंसात्मक विद्रोह गरेको जेभीपी दुवैपटक असफल भएको थियो। उनले त्यो हिंसात्मक विगतसँग पार्टीको नाता टुटाउने कोसिस गरे। उनले सार्वजनिक रूपमै ती घटनामा पार्टीको सहभागितालाई लिएर दुःख व्यक्त गरे।
‘१९८८र८९ को अवधि हाम्रा लागि भयानक आश्चर्यको समय थियो। कसरी त्यस्तो भयो, हामी कल्पना गर्न सक्दैनौँ। हामी स्वीकार्छौं, कयौँ अत्याचार भए। हुनै नहुने घटना भए। हामी स्वीकार्छौं,’ उनले डेली मिररसँगको अन्तर्वार्तामा भनेका छन्, ‘त्यो प्रलयकारी अवधिको २५ वर्ष बित्यो। यसबाट हामीले तितो पाठ सिक्यौँ र जेभीपीको हातबाट अब त्यस्तो घटना फेरि नहुने वाचा गर्छौं।’
दिसानायके पहिलोपटक २०१९ मा राष्ट्रपतिमा उठेका थिए। तर, उनले मात्र ३ प्रतिशत मत पाएका थिए।
‘हामीमध्येकै एक’
श्रीलंका आर्थिक संकटमा परेपछि २०२२ यता जेभीपीले मतदाताको असन्तुष्टिलाई उपयोग गर्ने कोसिस गर्दै आएको छ। सो पार्टीले आफूलाई व्यवस्था परिवर्तनको आवाज ठान्ने गरेको छ।
दिसानायके भ्रष्टाचारविरोधी अडानका कारण परिचित छन्। उनले विगतका सरकारहरूलाई पनि जवाफदेही हुन आह्वान गर्दै आएका छन्।
मतदाताले अलग राजनीतिक अभ्यास र संस्था खोजेको युनिभर्सिटी अफ कोलम्बोका राजनीतिशास्त्री प्रदीप पेरिस बताउँछन्।
‘यो नतिजाले के देखाउँछ भने २०२२ मा हामीले देखेको विद्रोह अझै समाप्त भएको छैन,’ उनी भन्छन्।
उनको निर्वाचनले श्रीलंकामा ‘शासन परिवर्तन’ को छाप छाड्ने सेन्टर फर पोलिसी अल्टरनेटिभ्सका कार्यकारी निर्देशक पाइकियासोथी सर्वनामुत्तु बताउँछन्।
‘उनको चुनावी वाचाको मुख्य हिस्सा भनेको भ्रष्टाचारीमाथि कडा कारबाही पनि थियो,’ उनी भन्छन्, ‘तर, मेरो विचारमा सबैभन्दा मुख्य कुरा के हो भने उनी धेरै हदसम्म जनताका मान्छे हुन्। मानिसहरूमा उनी कुनै वंशका होइनन, कोलम्बोका होइनन्, त्यसकारण हामीमध्येकै एक हुन् भन्ने भाव छ।’
कतिपयले उनलाई चमत्कारी व्यक्तित्त्व भएका नेता मान्ने गरेका छन्। दिसानायकेका लागि सुरुवाती एक वर्ष वास्तविक परीक्षा हुने उनको भनाइ छ।
‘यदि उनले ठूलो माछालाई जेल हाल्न सकेनन् भने उनले केही समस्या सामना गर्नुपर्नेछ,’ उनी भन्छन्, ‘अर्कोतिर, उनले लोककल्याण, अनुदानको वाचा गरेका छन्। तर, पैसा कहाँबाट आउँछरु’
वामपन्थी राष्ट्रपतिको आर्थिक नीतिमाथि प्रश्न
उनले कर घटाउने, सार्वजनिक सेवा राम्रो पार्ने, पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई ध्यान दिने वाचा गरेका छन्।
तर, श्रीलंका अभूतपूर्व संकटसँग जुधिरहेको छ, केही वर्षयता। वामपन्थी राष्ट्रपतिले त्यस्तो आर्थिक संकट साम्य पार्न नसक्ने दाबी समेत कतिपयले गर्दै आएका छन्।
‘तर, पैसा कहाँबाट आउँछ भन्ने स्पष्ट योजना उनले अगाडि सार्न सकेका छैनन्,’ सर्वनामुत्तु भन्छन्, ‘उनको आर्थिक नीति हेर्ने टिमको विज्ञता र अनुभवमाथि पनि प्रश्न छन्। उनीहरूको परीक्षित होइनन्। र, कतिपय त जेभीपीको मार्क्सवादी पृष्ठभूमिका छन्।’
आलोचकहरूले उनलाई ‘श्रीलंकाली माओवाद, सिंहला जातीय सर्वोच्चता र आर्थिक पपुलिजमको मिश्रण’ भएको पनि बताएका छन्।
श्रीलंकाको वैदेशिक ऋण ४० अर्ब डलर छ। त्यसमध्ये १२.६ अर्ब डलर ऋणको भाका सार्न सुरुवाती सम्झौता भएको छ। अब सो सुरुवाती सम्झौता समेत जोखिममा पर्नसक्ने चिन्ता व्यक्त गरिँदै आएको छ।
यस्तोमा, नयाँ नेताहरूले जनतालाई परिवर्तनको अभास दिलाउन नसके पहिलेका शासकहरूले भोगेकै आक्रोश उनीहरूले पनि भोग्नुपर्ने चेतावनी विश्लेषकहरूले दिएका छन्।
अनलाइनखबर र नेपालखबरबाट













































































































































































































