बागलुङ । बागलुङ उद्योग वाणिज्य संघले विजयादशमीको उपलक्ष्यमा बागलुङ कारागारका कैदीबन्दीहरुलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य युवराज राजभण्डारी र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले सोमबार कैदीबन्दीहरुलाई दसैँ मनाउनको लागि एउटा खसी, २१ केजि कुखुराको मासु, फलफुल र खाद्यान्न हस्तान्तरण गरेका हुन्।
अध्यक्ष कँडेलले कैदीबन्दीसँग दसैँमा शुभकामना आदानप्रदान गरेर भ्रातृत्वको सम्बन्ध स्थापित गर्न र उनीहरुमा सकारात्मक भावना जागृत गराउन खसी र खाद्यान्न उपलब्ध गराइएको बताउनुभयो ।
नेपालीको महान पर्व दशैँको अवसरमा कारागारमा रहेका कैदीबन्दीहरुले उल्लास पूर्वक चाडपर्व मनाउनु पाओस भनि खसी र खाद्यान्न सहयोग गरेको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य राजभण्डारीले बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रामप्रसाद उपाध्यायले पनि मन्तव्य गर्नु भएको थियो ।
कार्यक्रममा निमित्त कारागार प्रमुख हरिकृष्ण शर्माको उपस्थिति रहको थियो । कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको धन्यवाद मन्तव्य र उपमहासचिव इन्द्रमणि पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
कारागारमा एक सय ४७ पुरुष, १६ महिला कैदीबन्दी र दुई जना आश्रित नाबालक छन् ।
कारागारका कैदीबन्दीले उत्पादन गरेका सामानहरु बागलुङ उद्योग वाणिज्य संघको कोसेली घर मार्फत विक्री गर्ने समझदारी भएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष कँडेलले नयाँ विश्वलाई जानकारी दिनुभयो ।




















































































































































































































