बागलुङ । बागलुङ नगरपालिका-३ स्थित किनारा टोल विकास संस्थाले आयोजना गरेको हनुमान नाँच प्रदर्शनको कार्यक्रममा जमुना बाटाजुलाई सम्मान गरिएको छ ।
संस्कृति संरक्षणमा पुर्याएको योगदानको कदर स्वरुप बाटाजुलाई सम्मान गरिएको हो।गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले बागलुङ नगरपालिका-३ राधाकृष्ण टोल जन्म घर भइ हाल पोखरा गणेश टोल निवासी बाटाजुलाई दोसल्ला र कदरपत्रले सम्मान गर्नु भएको हो ।
विसं २०१६ सालमा आमा महालक्ष्मी राजभण्डारी र बुबा लालबहादुर राजभण्डारीको माइली छोरीको रुपमा जन्मिएकी बाटाजुले विद्यामन्दिर माध्यमिक विद्यालयबाट एसएलसी दिएकी थिइन् ।
उहाँले हनुमान नाँचको बारेमा विसं २०४८ सालमा त्रिभुवन विश्व विद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत इतिहास विषयको स्नातकोत्तर तहको अध्ययनको लागि ‘बागलुङका नेवारहरुमा प्रचलित संस्कार, चाडपर्व र हनुमान नाँच’ को अध्ययन शोधपत्र तयार गर्नु भएको थियो ।
कार्यक्रम किनारा टोल विकास संस्थाका अध्यक्ष भिमसेन कुमार श्रेष्ठको अध्यक्षता र सचिव पुनम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।














































































































































































































