पर्वत । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले महिलाहरुको हाजिरी जवाफ र म्युजिकल चेयर प्रतियोगिता तथा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जलजला गाउँपालिका– ४ स्थित लुङ्दी आधारभूत विद्यालयमा अयोजित कार्यक्रममा बक्ताहरुले नेपालको संविधानमा महिलाहरुका अधिकार लेखिएपनि व्यवहारिक रुपमा अझै कार्यान्वयन हुन नसकेको बताएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले संवैधानिक रुपमा महिलाहरुको अधिकार स्थापित भएपनि व्यवहारिक रुपमा कार्यान्वन गर्न आबश्यक रहेको बताए । उनले समाजमा रहेका सबैखाले विभेद र असमानताहरुको अन्त्य गर्न सकेमा मात्रै महिलाहरुले समेत समाजमा उचित अवसर पाउने अवस्था आउने बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले महिलाहरुलाई अवसरमा प्राथमिकता दिने कुराले पहुँच बढाउने बताउँदै आर्थिक रुपमा समेत सक्षम बनाउनुका साथै अधिकारको लागि शसक्तिकरण र आयआर्जनका लागि उद्यमशिलतामा जोड्ने काममा गाउँपालिकाले जोड दिएको बताए ।
कार्यक्रममा नेपाल महिला संघ जलजलाका प्रभा शर्मा न्यौपाने, अखिल नेपाल महिला संघ जलजलाका अध्यक्ष बालकुमारी आचार्य, अखिल नेपाल महिला संगठन क्रान्तिकारीका जिल्ला सदस्य रीता दर्जीले महिला अधिकारको बिषय संविधानमा लेखिनु र व्यवहारमा उतार्नु फरक रहेको अनुभव सुनाउँदै महिला शसक्तिकरणको लागि सबै मिलेर अगाडी बढ्नुपर्ने विचार व्यक्त गरे । हाजिरजवाफ प्रतियोगितामा ज्योतिमण्डल मावि प्रथम, विद्याज्योति मावि द्धितिय, अमृत आदर्श प्याराडाइज एकेडेमी तृतीय र जनकल्यण मावि सान्त्वना हुन सफल भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय , तृतीय र सान्त्वना हुनेलाई क्रमश नगद रु ९ हजार, ७ हजार, ५ हजार र ३ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
त्यसैगरि दिवसकै अवसरमा आयोजित म्युजिकल चेयरमा प्रथम हुन सफल विष्णुकुमारी रायमाझी, द्धितिय सुवर्ण श्रेष्ठ र तृतीय हुन सफल सोफिया गर्वुजालाई क्रमश नगद रु १ हजार पाँच, १ हजार र पाँच सय नगद सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।



















































































































































































































