बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मानव सेवा आश्रम बागलुङशाखाको भवन मिर्नाणका लागि देखिने गरी पूर्वाधारमा सहयोग गर्ने बताउनु भएको छ । उहाँले गृहजिल्लामा मानवताको मन्दिर मिर्नाण थालिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले व्यक्तिगत र संस्थागतरुपमा देखिने गरी सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
ढकालले गृहजिल्लाको पवित्र कालीगण्डकी तटमा मानव सेवा आश्रमको भवन निर्माण गर्नु धार्मिक हिसावले समेत महत्वपूर्ण रहको बताउनुभयो ।उहाँले आफूपनि बागलुङमा जन्मिएको र बागलुङमा मानवसेवा आश्रम निर्माणकोलागि पवित्र कार्य थालिएको बताउँदै आफूले देखिने गरि सहयोग गर्ने बताउनुभयो ।
“आश्रमले नेपालका धेरै जिल्लामा भवन निर्माण गरी मानव सेवा प्रदान गर्दै आएको कुरा मैले सुन्दै पनि आएको थिए” उहाँले भन्नुभयो “आफ्नो जन्मभूमिमा मानव सेवा आश्रमको भवनलाई सहयोग गर्न पाउनु गौरवको कुरा हो ।”
ढकालले यस महायज्ञमा गरिने सहयोगले मानव जातिको कल्याण हुने बताउनुभयो । सबैभन्दा ठूलो सेवा भनेको मानव सेवा रहेकोले यस्तो पवित्र कामको अगुवाई गर्दै आएकोमा मानव सेवा आश्रमको समग्र टिमलाई अध्यक्ष ढकालले धन्यवाद दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, कथा वाचन भागवत् भास्कर कमलनयन गौतम, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम मानवसेवा आश्रम श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञका अध्यक्ष सहदेव राजभण्डारीको अध्यक्षता, बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काको स्वागत र महायज्ञका सचिव युक्तप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित आगामी २८ गतेसम्म महायज्ञ चल्नेछ ।














































































































































































































