३ श्रावण २०८३, आईतवार

 

कोठा निर्माण गर्न आश्रमको महायज्ञमा बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले गर्‍यो ५ लाख दान

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले मानव सेवा आश्रममा एक कोठा निर्माण रु ५ लाख सहयोग गरेको छ ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवनमा एक कोठा बनाउन ५ लाख ११ हजार १ सय ११ रुपैयाँ बुधबार प्रदान गरको बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठले जानकारी दिइन् ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु हुन लागेको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग गरेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी सदस्य संगम भारीले नयाँविश्वलाई बताइन् ।

महिला समूहले सामाजिक, शैक्षिक, जनस्वास्थ्यका साथै मानविय क्षेत्रमा पनि सहयोग गर्दै आएको र भविष्यमा मानवसेवा आश्रमलाई थप सहयोग गर्ने बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी उपाध्यक्ष मन्दिरा श्रेष्ठले बताइन् । भवन निर्माणका लागि आयोजना हुने महायज्ञ सुरु नहुँदै उत्साहजनक रुपमा आर्थिक सहयोग जुट्न शुरु भएको छ ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि महायज्ञ सुरु भएको छ ।भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ ।

महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung