बागलुङ । युवाको नेतृत्व विकास र सामाजिक सेवामा क्रियाशिल रोटरी क्लब अफ बागलुङले मानव सेवा आश्रमको महायज्ञलाई ५१ हजार १ सय ११ सहयोग गरेको छ ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन र कोष निर्माणको लागि रु ५१ हजार १ सय ११ हस्तान्तरण गरेको रोटरी क्लब अफ बागलुङका अध्यक्ष नारायण गौतमले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग गरेको रोटरी क्लब अफ बागलुङका सचिव निशान खड्काले बताउनुभयो।
भवन निर्माणका लागि आयोजना भएको महायज्ञमा उत्साहजनक रुपमा आर्थिक सहयोग आइरहेको छ ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गरिएको हो ।
भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ ।
महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।
रोटरी क्लब अफ बागलुङले सामाजिक, शैक्षिक, जनस्वास्थ्य, धार्मिक र मानविय क्षेत्रमा नियमित सहयोग गर्दै आएको छ ।

















































































































































































