बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि काठमाडौ महानगरपालिका-२६ सामाखुसी निवासी लायन्स क्लबका पूर्वगभर्रन समाजसेवी बालकृष्ण बुर्लाकोटीले रु ५० हजार १ सय ११ सहयोग प्रदान गरेका छन् ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन उक्त रकम शनिबार डिष्ट्रिक सिनियर एडभाइजर पार्वती थापा अधिकारी र रिजन चियर पर्सन जुनु श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो ।
बुर्लाकोटी परिवारले सामाजिक, शैक्षिक, मानविय, धार्मिकलगाएतको क्षेत्रमा नियमित रुपमा सहयोग गर्दै आएका छन् ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्तिक २९ गते समापन भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञबाट रु ९ करोड ६९ लाख संकलन भएको आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नुभएको थियो ।
















































































































































































