बागलुङ । मानवसेवा आश्रम बागलुङमा कोठा निर्माणको लागि बागलुङ नगरपालिका-२ जन्म घर भई हाल बेल्जियम निवासी राजेन्द्र पौडेल, श्रीमती सरस्वती पौडेल र देव पौडेल देवु, श्रीमती पुनम पौडेलले रु ५ लाख ११ हजार १ सय ११ सहयोग गर्नु भएको छ ।
बुबा अग्नीधर उपाध्याय र आमा यमुना उपाध्यायको सहस्र पूर्ण चन्द्र दर्शनको उपलक्ष्यमा छोराबुहारीहरु राजेन्द्र पौडेल, श्रीमती सरस्वती पौडेल र देव पौडेल देवु, श्रीमती पुनम पौडेलले आश्रममा एक कोठा निर्माण गर्न उक्त रकम प्रदान गर्नु भएको हो ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन उक्त हस्तान्तरण गरेको देव पौडेल देवुले नयाँविश्वलाई बताउनुभयो । भवन निर्माण भएपछि कोठा डेकोरेसन गर्न चाहिने सबै खर्च हाम्रो परिवारले व्योहर्ने पौडेलले जानकारी दिनुभयो ।
पौडेलले सामाजिक, शैक्षिक, मानविय, स्वास्थ्य, धार्मिकलगाएतको क्षेत्रमा नियमित रुपमा सहयोग गर्दै आएका छन् ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्तिक २९ गते समापन भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञबाट रु ९ करोड ६९ लाख संकलन भएको आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नुभएको थियो ।


















































































































































































