बागलुङ । मानवसेवा आश्रम, बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ गत कात्तिक २१ गतेदेखि २९ गतेसम्म सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ ।
महायज्ञ मूल आयोजक समितिले शनिबार सार्वजनिक लेखा परीक्षण कार्यक्रममार्फत महायज्ञमा रु नौ करोड ७७ लाख ७२ हजार सङ्कलन भएको जनाएको हो ।
महायज्ञमा सङ्कलित रकममध्ये रु ८१ लाख ३७ हजार चार सय १० खर्च भई रु आठ करोड ९१ लाख ४८ हजार आठ सय ९७ बचत भएको समितिका कोषाध्यक्ष सरिता गौतमले जानकारी दिइन् । नगद, चोक र क्यूआरबाट रु सात करोड ६९ लाख १७ हजार दुई सय ७५ र प्रतिबद्धता रकम रु। एक करोड ९० लाख ८४ हजार छ सय ६० सङ्कलन भएको जनाइएको छ ।
सरकारी निकाय, स्थानीय तहबाट रु ८५ लाख सात हजार दुई सय पाँच, संस्थागत तर्फबाट रु २५ लाख दस हजार छ सय ६१ र व्यक्तिगत रुपमा रु ८० लाख ६६ हजार सात सय ९४ प्रतिबद्धताको रकम उठ्न बाँकी रहेको कोषाध्यक्ष गौतमले बताइन् ।
कलश बिक्रीबाट रु दुई हजार दुई सय, दानपेटिकाबाट रु नौ लाख ९४ हजार तीन सय ६५, तुलादानबाट रु पाँच लाख ३८ हजार पाँच सय ६१ र धानचामल बिक्रीबाट रु दुई लाख ३५ हजार सङ्कलन भएको जनाइएको छ । मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भवन निर्माण र अक्षयकोष वृद्धिको उद्देश्यले गरिएको महायज्ञ सफल भएको बताए ।
उनले निर्माणाधीन आश्रम भवनको काम यसै आर्थिक वर्षभित्र सक्ने गरी निर्माणलाई तीव्रता दिइने बताए । आश्रमसहित निरयघाट क्षेत्रको बृहत् एकीकृत विकास गुरुयोजना बनाएर काम अगाडि बढाइने उनको भनाइ छ ।
आश्रमको भवन निर्माणस्थल बागलुङ नगरपालिका–४ निरयघाटमा आयोजित सार्वजनिक लेखा परीक्षण कार्यक्रममा महायज्ञको सेवामा खटिएका विभिन्न व्यक्ति र संस्थाहरुलाई आश्रमको केन्द्रीय कार्यालयका तर्फबाट कृतज्ञता ज्ञापनसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
पत्रकार सम्मेलनमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञका सचिव युक्त प्रसाद सुवेदीले महायज्ञको प्रगति प्रतिवेदन पनि प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम मानवसेवा आश्रम, बागलुङको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञका अध्यक्ष सहदेव राजभण्डारीको अध्यक्षता, बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काको स्वागत र सचिव युक्त प्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
















































































































































































