बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले फागु पर्व तथा रमजानको सन्दर्भमा सार्वजनिक सूचना जारी गर्दै चाडपर्वलाई सभ्य, मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गरेको छ।
कार्यालयले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र एकताको सन्देश बोकेको फागु पूर्णिमा (होली) यस वर्ष फागुन १८ गते पहाडी जिल्लामा र फागुन १९ गते तराईका जिल्लामा मनाइने उल्लेख गर्दै सम्पूर्ण जिल्लावासीमा शुभकामना व्यक्त गरेको छ।
यसैबीच, मिति २०८२ फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको प्रशासनले जनाएको छ।
सूचनामा कानूनविपरीतका गतिविधि, उच्छृंखल व्यवहार, झैँझगडा, द्वेष फैलाउने अभिव्यक्ति तथा सामाजिक सद्भाव भड्किने कार्य नगर्नरनगराउन अनुरोध गरिएको छ। साथै, कुनै पनि अवाञ्छित गतिविधि देखिएमा नजिकको सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन समेत आग्रह गरिएको छ।
कोही कसैले यस्ता कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालद्वारा हस्ताक्षरित छ।













































































































































































































