बागलुङ । सुर्खेतकी इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङले बागलुङ बजारको लोकतान्त्रिक चोकमा विहिबार विरोध प्रदर्शन गरेका छन् ।
इनिसाको न्याय हाम्रो आवाज, पहिला निर्मला अहिले इनिसा अब सहिदैन, बलात्कारीलाई सजाय देउ, पीडितलाई न्याय देउ, अपराधिलाई कारवाही गर, बलत्कार लुकाउने होइन रोक्ने हो लगाएत लेखिएका प्लेकार्ड युवाहरुले प्रदर्शन गरेका थिए । समिट चोकबाट विरोध जुलुस विभिन्न चोक परिक्रमपछि लोकतान्त्रिक चोकमा विरोध सभामा परिणत भएको प्रवुद्ध युवा समूह बागलुङका सल्लाहकार दिलिप पर्तेलले नयाँ विश्वलाई बताउनुभयो ।
साथै युवाहरुले सवै बलात्कारका घटनाहरुको निष्पक्ष छानविनका लागि उच्चस्तरीय आयोग गठन गर्न र कडा सजायको कानुन निर्माण गर्न सांसदहरुलाई माग गरेको प्रवुद्ध युवा समूहका अध्यक्ष रोहित सुनारले बताउनुभयो ।
सामूहिक बलात्कारपछि हत्या भएको भनिएकी १६ वर्षीया विकको पोस्टमार्टम रिपोट पनि आइसकेको छ । साथै भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर विकको शव परीक्षण गरेका थिए ।
यौन सम्बन्धका लागि जबर्जस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हुनसक्ने कुरा रिर्पोटमा उल्लेख छ ।
गत शनिबार वीरेन्द्रनगर–४ सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा विकको बलात्कारपछि हत्या भएको थियो ।
















































































































































































































