बागलुङ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको रायराँयकोटमा पूर्वाधार थपिएसंगै त्यहाँ पुग्ने पर्यटकहरुको लर्को लाग्न थालेको हो । रायराँयकोटमा सडक, विद्युत लगायतका पूर्वाधारको विकास भएको छ भने सत्तल निर्माण भएको हो । बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटसंग जोडिएको रायराँयकोट यतिबेला चर्चामा पुगेको हो ।
बागलुङ नगरपालिका–७ बौलुङमाथिको डाँडामा रहेको धार्मिक क्षेत्र रायराँयकोट क्षेत्रमा यतिबेला गुराँसले राताम्ये भएको छ । प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य बनेको रायराँयकोटमा गुराँस फुलेपछि पर्यटकको लर्को लागेको छ । रायराँयकोटमा वैशाख र जेष्ठमा स्थानीय समुदायले वर्षादेवका रुपमा समेत पुजा आजा गर्दै आएका छन् ।
उक्त स्थानमा पुग्नेको संख्या अहिले दिन प्रतिदिन बढ्दै गएको स्थानीय लाल बहादुर गौतमले जानकारी दिनुभयो । बागलुङ नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट पूर्वाधार निर्माणमा सहयोग आएको छ । अहिले त्यहाँ सडक पुगेकाले सहज भएको गौतमको भनाई छ ।
पूर्वाधार निर्माण र प्रचार प्रसारका कारण रायराँयकोट पछिल्लो समय चर्चामा रहेको छ । गुराँस फुलेसंगै रायराँयकोट मनमोहक देखिएको छ । धार्मिक तथा प्राकृतिक हिसाबले अत्यन्तै महत्वपूर्ण मानिएकाले पछिल्लो समय त्यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको गौतमले जानकारी दिनुभयो ।
“धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चर्चित पञ्चकोट मध्येको एक रायराँयकोटमा पछिल्लो समय अवलोकनका लागि पुग्नेको संख्यामा वृद्धि भएको छ” गौतमले भन्नुभयो “पदमार्ग, खानेपानी, शौचालय र सत्तल जस्ता धार्मिक पूर्वाधारहरु निर्माण भएको र अहिले गुराँससंग फोटो खिच्ने, टिकटक बनाउने र हिमश्रृङ्खला हेर्न बागलुङ बजारबाट त्यहाँ पुग्ने गरेका छन् ।”
सडकमार्गबाट बागलुङ बजारबाट दुई घण्टामै पुग्ने सकिने उच्च पहाडमा रहेको रायराँयकोटले आन्तरिक पर्यटक तान्दै आएको छ । सवारीसाधनको माध्यमबाट त्यहाँ पुग्नुभएको प्रेम घर्तीले बागलुङ बजारको कोलाहल छल्ने नजिकको स्थानका रुपमा रायराँयकोट बनेको बताउनुभयो ।
घर्तीका अनुसार उच्च पहाड संसारकोट सम्म फैलिएको पाँच कोटले धार्मिक मार्गको रुपमा समेत विकास गरेको थियो । गैरागाउ, तितौरे, बाटुले, तंग्राम, मुलपानी, तित्याङ र मालिका लगायतका विभिन्न स्थानबाट वर्षादेवका रुपमा पुजाआजा गर्ने प्रचलन रहेको छ ।
गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालय अन्तर्गत रायराँयकोटमा अहिले सम्म रु २० लाखको पूर्वाधार निर्माण भइसकेको छ । मन्दिरको छाना छाउने, पुरानो घण्टी संरक्षण, सत्तल निर्माण, पर्खाल निर्माण र मैदान बनाइएको छ । रायराँयकोटमा पुग्ने स्तरीय सडक बनाउन भने आवश्यक छ ।
यस्तै पञ्चकोट देखि संसारकोट पुग्ने पदमार्ग निर्माणका लागि रु ५० लाख बजेट संघीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन गरिएको छ । यस अघि कारिकोट देखि माझकोटसम्म पदमार्ग निर्माणको काम भइरहेको छ । रायराँयकोटमा लिफ्ट मार्फत स्थानीयद्वारा खानेपानी पु-याइएको छ ।
ठुलो ढुङ्गाको छेडमा परापुर्वकालदेखी पुँजा गरिने यस स्थानमा वि.स. १९२६ सालमा चन्द्रप्रसाद गौचनले चढाउनु भएको घण्टी समेत यहाँ संरक्षित रहेको छ । यो रायराँयकोट समेत ऐतिहासिक रुपमा प्रसिद्ध रहेको र पुजाको दिन पुजा गरिसकेपछि चितुवा देखिन्थ्यो भन्ने परम्परागत किंवदन्ती समेत रहेको छ
पाँच कोट ताराजालकोट, कारीकोट, माझकोट, रायराँयकोट र संसारकोटलाई पञ्चकोटका रुपमा प्रचार गरी अहिले पञ्चकोट धार्मिक गन्तव्य बनिरहेको छ ।













































































































































































































