बागलुङ । बागलुङ नगरपालिका–३ स्थित श्री लक्ष्मीनारायण मन्दिर स्थापना भएको १०० वर्ष पूरा भएको छ । १०० वर्ष पुरा भएको अवसरमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको छ ।
मन्दिर सेवा समितिले वैशाख ७ गते सोमबार विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित उत्सव मनाउन लागिएको जनाएको छ ।
कार्यक्रम अन्तर्गत बिहान ८ बजे भजन–कीर्तनसहित बजार परिक्रमा गरिनेछ भने बिहान ९ बजेबाट पूजा आरम्भ गरिने जनाइएको छ । त्यसैगरी दिउँसो १ बजे लक्षवर्ती प्रज्वलन र दिउँसो २ बजे कार्यक्रम समापन गरी प्रसाद वितरण गरिने कार्यक्रम तालिका रहेको छ ।
उक्त कार्यक्रम बागलुङ नगरपालिका–३ नारायणचोकस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा सञ्चालन हुनेछ । आयोजकले सम्पूर्ण भक्तजन तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आग्रह गरेको छ ।
श्री लक्ष्मीनारायण मन्दिर सेवा समितिका अध्यक्ष जयराम भारीले एक सय वर्ष अघि एक हजार ३०० रकम संकलन गरी मन्दिर निर्माण गरिएको बताउनुभयो । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको उत्सवलाई भव्य बनाइने भारीको भनाई छ ।
बागलुङ तत्कालिन संस्कृतिकर्मी टेकनारायण भारी, बहुद प्रसाद भारी (मानकाजी भारी),अश्विनी कुमार वझान्थाछेले विसं १९८३ मा बागलुङ नगरपालिका(३, नारायण चोकमा लक्ष्मीनारायण मन्दिरको स्थापना गर्नु भएको थियो ।
लक्ष्मीनारायणको मूर्ति बनारसका बनाउन लगाएर बागलुङ ल्याइएको थियो । उहाँहरुले नै नारायण चोकबाट नै तायाः मचा नाच बागलुङ बजार परिक्रममा गराउने परम्परा बसालेका थिए ।
उहाँहरुले पाल्पामा परम्परागत रुपमा संचालन हुने ऐतिहासिक तायाः मचा नाच हेरेर आएपछि उक्त प्रचलन सुरु गरेका थिए ।
















































































































































































































