२० असार २०८३, शनिबार

 

नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको ३६औँ साधारणसभा सम्पन्न

बागलुङ । नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको ३६औँ साधारणसभा शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।साधारणसभाका अवसरमा रेडक्रसलाई विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।

सम्मानित हुनेमा संस्थालाई नगद १६ लाख रुपैयाँ सहयोग गर्ने बागलुङ सेवा समाज जापान, १४ लाख रुपैयाँ बराबरको सहयोग गर्ने बागलुङ सेवा समाज अमेरिका, खानेपानी सुविधाका लागि एक हजार लिटर क्षमताको ट्यांकी सहयोग गर्ने बागलुङको सिगाना निवासी डा. धनबहादुर खड्का, तथा स्ट्रेचरलगायतका सामग्री सहयोग गर्ने आकाश राजभण्डारी रहेका छन्।

उहाँहरूलाई नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकाल र बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभयो।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभापति ढकालले रेडक्रसका सम्पूर्ण गतिविधि निष्पक्ष र तटस्थ हुनुपर्ने बताउनुभयो। पछिल्लो समय केन्द्रीय समितिमा देखिएको समस्याको असर जिल्ला तथा स्थानीय तहसम्म परेको उल्लेख गर्दै उहाँले सबै पक्ष मिलेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो। उहाँले रेडक्रसका सबै संरचनालाई कायम राख्न सके मात्र दुर्गम क्षेत्रसम्म प्रभावकारी सेवा प्रवाह गर्न सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा रेडक्रस बागलुङका पूर्वसभापति जब्बरबहादुर लामिछाने, पूर्व गण्डकी प्रदेश सदस्य हिमाल शर्मा, गल्कोट उपशाखाका संयोजक रामबहादुर खत्री तथा बेलबगर उपशाखाका सभापति लक्ष्मीकान्त शर्माले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सो अवसरमा रेडक्रसका मन्त्री भवानीप्रसाद कँडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जीवननाथ शर्मा रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका थिए।

कार्यक्रम नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यको अध्यक्षता, उपसभापति सीता शर्माको स्वागत, उपसभापति राजेन्द्र आचार्यको धन्यवाद मन्तव्य र मन्त्री भवानीप्रसाद कँडेल सञ्चालनमा सम्पन्न भउको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung