१७ श्रावण २०८३, आईतवार

 

रुल–बेस्डबाट रिस्क–बेस्ड सोल्भेन्सीमा फड्को मार्दै बिमा क्षेत्र, आईएमई लाइफ सबैभन्दा अगाडि

बागलुङ। नेपालको जीवन बिमा क्षेत्रले परम्परागत ‘नियममा आधारित’ (रुल–बेस्ड) प्रणालीलाई छाडेर आधुनिक र वैज्ञानिक ‘जोखिममा आधारित पुँजी’ (रिस्क–बेस्ड सोल्भेन्सी) प्रणालीमा ऐतिहासिक फड्को मारेको छ।

नेपाल बिमा प्राधिकरणले यो नयाँ सोल्भेन्सी निर्देशिका अनिवार्य गरेपछि कम्पनीहरूको वित्तीय सबलता मापन गर्ने विधिमा आमूल परिवर्तन आएको हो।

रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सार्वजनिक गरेको ‘नेपाल लाइफ इन्स्योरेन्सः फर्म रुल–बेस्ड टु रिस्क–बेस्ड सोल्भेन्सी’ प्रतिवेदनअनुसार यो नयाँ प्रणालीमा आईएमई लाइफ इन्स्योरेन्स सबैभन्दा बलियो र सुरक्षित कम्पनीका रूपमा दरिएको छ।

सोल्भेन्सी र नयाँ प्रणालीको अर्थ

सोल्भेन्सी अनुपात भनेको कुनै पनि बिमा कम्पनीले आफ्ना बीमितहरूको दाबी भुक्तानी गर्न र भविष्यमा आउन सक्ने अप्रत्याशित वित्तीय झट्काहरू सामना गर्न राखेको पुँजीगत सुरक्षा कवच (फाइनानियल बफर) हो। यसअघि नेपालमा ‘भ्यालुएशन डाइरेक्टिभ २०२०’ अनुसार एउटा निश्चित नियमका आधारमा सोल्भेन्सी गणना गरिन्थ्यो।

तर, आर्थिक वर्ष २०८०/८१ देखि लागू भएको जोखिममा आधारित ९आरबिसी० प्रणालीले कम्पनीले लिएको वास्तविक जोखिमका आधारमा पुँजी निर्धारण गर्दछ। यसले कुन कम्पनीले कति जोखिमपूर्ण क्षेत्रमा लगानी गरेको छ र उसको दायित्व कति छ भन्ने कुरालाई मसिनो गरी केलाउँछ।

आईएमई लाइफ, रिलायबल र सन नेपालको वर्चस्व

केयर रेटिङ्सको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) को वित्तीय विवरण विश्लेषण गर्दा नयाँ प्रणालीअनुसार आईएमई लाइफ इन्स्योरेन्सको सोल्भेन्सी अनुपात २।५९ गुणा देखिएको छ। यो नियामक नेपाल बिमा प्राधिकरणले तोकेको न्यूनतम १।३० गुणा ९१३० प्रतिशत० को सीमाभन्दा झण्डै दोब्बर बढी हो।

आईएमई लाइफपछि रिलायबल नेपाल लाइफ २.५५ गुणा र सन नेपाल लाइफ २.४४ गुणासहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यी तीन वटै कम्पनीहरू नयाँ र प्रविधिमैत्री लगानी रणनीति अपनाएका कारण उच्च सोल्भेन्सी मार्जिन कायम गर्न सफल भएका हुन्।

यस्तै, नयाँ प्रणाली लागू भएपछि समग्र जीवन बिमा उद्योगको औसत सोल्भेन्सी अनुपातमा भने केही संकुचन देखिएको छ। सन् २०२१ देखि २०२३ सम्म पुरानो विधिबाट गणना गर्दा उद्योगको औसत सोल्भेन्सी ३.२४ गुणा थियो। तर, आरबीसी प्रणाली कार्यान्वयनमा आएपछि सन् २०२४/२०२५ मा यो औसत १९ गुणामा झरेको छ।

केयर रेटिङ्सका अनुसार यो गिरावटले कम्पनीहरू कमजोर भएको बुझाउँदैन। बरु, नयाँ प्रणालीमा पुँजीको भार (क्यापिल चार्ज) बढी र यथार्थपरक रूपमा गणना गरिने हुनाले यो अंक घटेको देखिएको हो।

यसले कम्पनीहरूको वास्तविक वित्तीय चित्र बाहिर ल्याएको छ, जसले गर्दा बीमितहरूको लगानी अझ बढी सुरक्षित भएको मानिन्छ। नयाँ व्यवस्थाले नेपालको बिमा बजारलाई अन्तर्राष्ट्रिय स्तरको सुपरीवेक्षकीय अभ्याससँग जोडेको छ।

कम्पनीहरूको तुलनात्मक अवस्था
प्रतिवेदनअनुसार १४ वटा जीवन बिमा कम्पनीहरूमध्ये अधिकांश आन्तरिक लक्ष्यको १३० प्रतिशतभन्दा माथिको सुरक्षित घेराभित्र रहेका छन्। जसमा मेट लाइफ २.०८ गुणा, नेसनल लाइफ १.५४ गुणा, र नेपाल लाइफ १.६६ गुणा जस्ता स्थापित कम्पनीहरूले पनि सन्तोषजनक सोल्भेन्सी कायम राखेका छन्।

यता, हिमालयन लाइफ १.३२ गुणा, एसियन लाइफ १.३३ गुणा र सानिमा रिलायन्स लाइफ १.५७ गुणा भने नियामकले तोकेको न्यूनतम सीमाको केही नजिक रहेका छन्। यद्यपि, सबै १४ कम्पनीहरू हालसम्म सुरक्षित ब्याण्डभित्रै रहनुले नेपाली बिमा बजार वित्तीय रूपमा स्वस्थ रहेको पुष्टि गर्छ।

रुल–बेस्डबाट रिस्क–बेस्ड सोल्भेन्सीमा भएको यो रूपान्तरणले नेपालको बिमा क्षेत्रमा पारदर्शिता र उत्तरदायित्वको नयाँ युग सुरु गरेको छ। आईएमई लाइफ जस्ता कम्पनीहरूले उच्च सोल्भेन्सी कायम गरेर लगानीकर्ता र बीमितमाझ बलियो भरोसा सिर्जना गरेका छन्।

अबका दिनमा कम्पनीहरूको साख उनीहरूको व्यापारको आकारमा मात्र नभई जोखिम व्यवस्थापन गर्ने क्षमता र पुँजीको कुशल परिचालनमा निर्भर रहने केयर रेटिङ्सको ठहर छ। यो नयाँ व्यवस्थाले दीर्घकालीन रूपमा नेपाली बिमा कम्पनीहरूलाई वैदेशिक लगानी र अन्तर्राष्ट्रिय साझेदारीका लागि समेत योग्य बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung