बागलुङ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा विभिन्न क्षेत्रमा गएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रबुद्ध युवा समूह, बागलुङले राहत तथा सहयोगका लागि रकम परिचालन गरेको छ ।
समूहले आयोजना गर्न लागेको ‘गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०८३’ देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरेको थियो ।
कार्यक्रमका लागि संकलन भएको रकममध्ये एक लाख रुपैयाँ सामाजिक तथा मानवीय क्षेत्रमा सहयोगका लागि छुट्याइएको समूहले जनाएको छ । समूहका अनुसार उक्त रकममध्ये ८५ हजार रुपैयाँ बाढीपहिरो प्रभावितका लागि राहत तथा सहयोग गरिएको छ ।
शनिबार बसेको समूहको बैठकले भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा तथा आसपासका क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिए ।
अध्यक्ष सुनारका अनुसार प्राकृतिक विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक संस्थाको दायित्व भएकाले सरकार तथा सम्बन्धित निकायलाई राहत र उद्धार कार्यमा सहयोग पुग्ने गरी विपद् कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको हो ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसीलगायतका क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, सडक, प्रहरी कार्यालय तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्याएको छ ।
विपद्को घडीमा उत्सवभन्दा मानवीयता ठूलो हो भन्ने सन्देश दिँदै कार्यक्रम स्थगित गरी पीडितको सहयोगमा रकम परिचालन गरेको प्रबुद्ध युवा समूहको कदमले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता देखाएको छ ।
















































































































































































