बागलुङ । गणेश चतुर्थीको अवसरमा बागलुङ बजारमा जोर गणेश भगवानको रथयात्रा निकालिएको छ ।
प्रत्येक वर्ष गणेश चतुर्थीका दिन बागलुङ नगरपालिका–३, राधाकृष्ण टोलस्थित जोर गणेश मन्दिर परिसरबाट सुरु हुने रथयात्रामा यस वर्ष पनि भक्तजनको सहभागिता रहेको थियो । धिमेबाजासहित निकालिएको भगवानको रथलाई बागलुङ बजारका विभिन्न टोल तथा चोकको परिक्रमा गराइएको थियो ।
जोर गणेश भगवानको रथयात्रा प्रत्येक वर्ष व्यवस्थित रूपमा सञ्चालन हुँदै आएपछि पूजा तथा रथयात्रामा भक्तजनको सहभागिता बढ्दै गएको जोर गणेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीमसेन श्रेष्ठले नयाँ विश्वलाई बताउनुभयो ।

सोमबार मन्दिरमा भक्तजनले ३५ हजार रुपैयाँ दान गरेको समितिका सचिव पवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । भगवान गणेशको पूजा आराधना गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको उहाँले बताउनुभयो ।
गणेश जात्रामा पहिले भगवानको पूजा गरी बोकाको बलि दिने र जाग्राम बस्ने भक्तजनलाई प्रसादस्वरूप समयबजी वितरण गर्ने परम्परा रहेको छ ।
जोर गणेश मन्दिर बागलुङ बजारको इतिहास बोकेको पुरानो धार्मिक स्थलमध्ये एक हो । बागलुङ सदरमुकाममा बसोबास गर्ने नेवार समुदायमा पहिले गणेशको पूजा गरेर मात्र अन्य देवीदेवताको पूजा गर्ने परम्परा रहिआएको छ ।
धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको जोर गणेशको रथयात्राले बागलुङ बजारको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानलाई निरन्तरता दिँदै आएको छ ।
















































































































































































