बागलुङ । नेपाल भाषा मंकाः खलः बागलुङको युवा संगठन नेवाः ल्याम्ह पुचः बागलुङले भदौरे नाच प्रदर्शन गरेर संकलन गरेको रकम बाढीपीडितलाई सहयोग गरेको छ ।
पुचःले भदौरे नाचअन्तर्गत रोपाइँ, कटुवाल, होवा र घोडा नाच प्रदर्शनबाट संकलन गरेको ४० हजार ४०५ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको नेवाः ल्याम्ह पुचः बागलुङका अध्यक्ष जय राजभण्डारीले जानकारी दिनुभयो ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम नेपाल भाषा मंकाः खलः बागलुङका अध्यक्ष जयराम भारीले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यमार्फत हस्तान्तरण गर्नु भएको हो।
पुचःका उपाध्यक्ष सुसन श्रेष्ठले भदौरे नाचबाट संकलन गरिएको रकम विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले बाढीपीडितका लागि प्रदान गरिएको बताउनुभयो ।
उहाँले प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्नुभयो ।
नेवाः ल्याम्ह पुचःले भदौरे नाचलगायत विभिन्न नाच, बाजा, परम्परा, संस्कार र जात्राको संरक्षण गर्दै नवयुवालाई नेवा संस्कृति र परम्पराको संरक्षणमा सक्रिय सहभागी गराउँदै आएको छ ।
यसैबीच, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा देशभरका विभिन्न संघसंस्था एकजुट भएर राहत तथा सहयोग अभियानमा जुट्नुपर्ने बताउनुभयो ।
तस्बिर : आर्दश संचारबाट
















































































































































































