३ जेष्ठ २०८१, बिहीबार

 

भुपू सैनिकले धानेको गाउँ

राम थापा ‘अविरल’
बागलुङ
जीवनको उर्बर काल प्रदेशमा बिताएर फर्केका भुतपूर्व भारतीय सैनिकको काँधमा अहिले गाउँको अभिभारा छ । युवा पलायनले गाउँ रित्तिरहेका बेला भुपूहरुले नेतृत्व सम्हालेका छन् । राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक सबै क्षेत्रमा भुपू सैनिकको अगुवाइ छ । आरामपूर्वक बिताउनुपर्ने सेवानिवृत्त जीवनकाल उनीहरुका लागि बेफुर्स्दिलो बनेको छ । बुढ्यौली लाग्दा सम्म भुपूहरु सामाजिक सेवाका काममा उत्तिकै कृयाशिल छन् ।
गाउँको आर्थिक–सामाजिक व्यवस्थालाई चलायमान उनै भुपूहरुले बनाएका छन् । वृद्धवृद्धा, स–साना बालबालिका, केही शिक्षक र सामाजिक कार्यकता मात्र भेटिने गाउँमा भुपूहरुले केही आशाका किरण छरेका छन् । बागलुङ बढी वैदेशिक रोजगारीमा जानेहरुको जिल्लामा अग्रस्थानमा पर्छ । देशमै सबैभन्दा बढी विप्रेषण भित्रने जिल्ला पनि बागलुङ हो । त्यसमा पनि जिल्लाको गलकोट भेगको नाम पहिले आउँछ ।
सोही भेगमा पर्ने मल्म गाविसका धेरै युवाहरु भारतीय सेनामा कार्यरत छन् । प्रत्येक जसो घरमा सेवा निवृत्त भएका भुपू सैनिकहरु पनि छन् । हवल्दारदेखि सुवेदारसम्मको पद हाँसिल गरेर फर्केका भुपूहरुले अहिले गाउँका सामाजिक संघसंस्था हाँकेका छन् । राजनीतिक दलको नेतृत्व गरेका छन् । गाउँ विकासको योजना निर्माण गरेका छन् । बसाइँसराइँ, विदेश पलायन, सुख–ऐश्वर्यको खोजी जस्ता कारणले सुनसान बन्दै गएको गाउँलाई भुपूहरुले प्राण भरेका छन् ।
गाउँमा गाह्रो–समस्या पर्दा अघि सर्ने उनै भुपूहरुनै हुन् । २४ वर्ष भारतीय सेनामा काम गरेर फर्कनुभएका गलकोट नगरपालिका ७ का ज्ञानबहादुर थापाले हालसम्म दर्जन बढी संस्थाको नेतृत्व तहमा बसेर काम गरिसक्नुभएको छ । हाल उहाँ वडा नागरिक मञ्च, जनहित कला केन्द्र, जनशित शिक्षा कोष, गौंदी घाट निर्माण समिति लगाएतका संस्थामा संयोजक÷उपाध्यक्ष पदमा हुनुहुन्छ । केही वर्षअघि उहाँ तत्कालिन एनेकपा माओवादी मल्मको सेक्रेटरी समेत हुनुहुन्थ्यो ।
थापाले घुम्टे सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको समेत अध्यक्ष भएर काम गरिसक्नुभएको छ । ‘कति संस्थामा बसेर काम गरें, एकिननै छैन’ थापाले भन्नुभयो ‘भारतीय सेनाको जागिरबाट निस्केपछिको अधिकांश समय सामाजिक काममै बितेको छ ।’ थापाले समाजसेवा गर्ने आफ्नो सानैदेखिको रुची भएको उल्लेख गर्नुभयो । थापा २४ वर्ष भारतीय सेनामा सेवा गरेर १५ वर्षअघि स्वदेश फर्कनुभएको थियो ।
२८ वर्ष भारतीय सेनामा काम गरेर सुवेदार पदमा १२ वर्षअघि सेवा निवृत्त हुनुभएका गल्कोट नगरपालिका ७ का ६१ वर्षीय टीकाबहादुर थापा पनि मल्मको सामाजिक अगुवा हुनुहुन्छ । उहाँको सामाजिक प्रतिष्ठा पनि उँचो छ । घर फर्केलगत्तै स्थानीय जनहित माध्यमिक विद्यालयको अध्यक्ष पद सम्हाल्नुभएका थापाले ९ वर्षसम्म विद्यालयको नेतृत्व गर्नुभयो । भुपू सैनिक कल्याण संघको केन्द्रीय सदस्य र मल्मको अध्यक्ष रहुनभएका थापाले विभिन्न सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष भएर समेत काम गरिसक्नुभएको छ । उहाँ सातसय बगाले थापा समाज मल्मको अध्यक्ष समेत भइसक्नुभएको छ ।
हाल उहाँ नागरिक वडा मञ्च गलकोट नगरपालिका ७ को संयोजक समेत हुनुहुन्छ । यसबाहेक अन्य विभिन्न संघसंस्थामा उहाँ नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । ‘विदेश पलायनले गाउँ खाली हुँदै गएको छ, सबै सुख–सुविधातिर लागेका छन्’ थापाले भन्नुभयो ‘भुपूहरुले गाउँ धानेको अवस्था छ, सबै तिरको नेतृत्वमा भुपूहरु आएका छन् ।’ उहाँका अनुसार मल्मका प्रमुख सबै दलहरुको नेतृत्वमा समेत भुपूहरुनै छन् ।
नेकपा (एमाले)को अध्यक्षमा गलकोट नपा ७ का भारतीय सेनाबाट सेवा निवृत्त होमबहादुर बस्नेत हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) मल्मको इञ्चार्जमा गरपालिका ७ का भुपू छुमबहादुर थापा रहनुभएको छ । राष्ट्रिय जनमोर्चाको मल्म ग्राम कमिटि अध्यक्षमा गलकोट नगरपालिका ७ कै भुपू भारतीय सैनिक दलबहादुर थापा रहनुभएको

1000

1000

छ । दलका समितिमा रहने पदाधिकारी, सदस्यमा पनि अधिकांश भुपूहरुकै संलग्नता छ ।
राजनीतिक दल, विद्यालय, सामाजिक संस्था, वन, कृषि समुह, उपभोक्ता समिति, विकास योजना लगाएतमा भूपुहरुकै नेतृत्व छ । २४ वर्ष भारतीय सेनाको जागिर खाएर फर्कनुभएका गलकोट नपा ७ का ५२ वर्षीय लोकबहादुर थापाको पनि अनुभव उस्तै छ । गाउँ फर्केपछि जिल्लाकै पुरानो मध्यमा पर्ने घुम्टे युवा परिवारको दुई कार्यकाल अध्यक्ष समेत भइसक्नुभएका थापाको दैनिकी पनि सामाजिक काममै बित्ने गरेको छ ।
‘कहिलेकाहीँ त दिनमै आठ÷दस वटा बैठकमा जानुपर्छ, सामाजिक काममा अग्रसर नबनी सुखै छैन, गाउँमा भुपूहरु बाहेक कोही पनि छैनन्’ थापाले भन्नुभयो ‘युवाहरुको विदेश मोहले आज गाउँ यसरी नेतृत्व विहीनको अवस्थामा पुगेको छ, ढल्कदोँ उमेरका भुपूहरुले गाउँको सेवा गर्नुपर्ने अवस्था छ ।’ थापा अहिले घुम्टे प्रगति कृषि समुहको अध्यक्ष, क्षेत्री समाज बागलुङको उपाध्यक्ष, लाम्दारा सामुदायिक वन उपभोक्ता समुहको उपाध्यक्षमा रहेर काम गरिरहनु भएको छ ।
घरको भन्दा सामाजिक काम बढी समय दिनुपर्दा कहिलेँकाही परिवारसँग तिक्तता बढ्ने गरेको अनुभव पनि भुपूहरुसँग छ । नेकपा (माओवादी केन्द्र) मल्मका इञ्चार्ज छुमबहादुर थापाले भन्नुभयो ‘पार्टीको, समाजको कामले कहिलेकाहीँ हप्तौसम्म घर छोड्नुपर्ने अवस्था पनि आउँछ ।’ जसोतसो परिवारको व्यवस्थापन गरेर सामाजिक सेवामा आफू तल्लिन रहेको थापाले बताउनुभयो । कतिपय ठाउँका भुपूहरु सहरी क्षेत्रमा बसाइँसराइँ गरि आरामको जिवन बिताइरहेपनि मल्मका भुपूहरुमा भने त्यो लागू छैन ।
गलकोट नगरपालिा ७ का ६१ वर्षीय सुवेदार टीकाबहादुर थापाले प्राण रहुञ्जेल गाउँको सेवामा समर्पित हुने बताउनुभयो । बसाइँसराइँ, सुखको खोजी, विदेश मोह जस्ता कारणले गाउँप्रति नयाँ पुस्ताको विकर्षण बढेको उहाँको भनाइ छ । ‘मल्ममा जापान जाने लहरनै छ, सयौं घरपरिवारका सदस्य जापान छन’ थापाले भन्नुभयो ‘छ, आठ महिनाको शिशुलाई समेत छाडेर विदेश जाने प्रवृत्ति बढेको छ, यो डरलाग्दो छ ।’
गाउँमा नेतृत्व गर्ने, आर्थिक–सामाजिक विकासमा अग्रसरता लिने युवा र शिक्षित पुस्ता पलायन हुँदै गएको उहाँको भनाइ छ । एउटा संक्रमणमा गुज्रेजस्तो देखिने गाउँलाई नेतृत्व गर्ने भुपूहरुको योगदान अति महत्वपूर्ण रहेको मल्म घर भइ हाल धवलागिरी बहुमुखी क्याम्पसमा सह–प्राध्यापक रहनुभएका डा. दिनबहादुर थापाले बताउनुभयो । भुपूहरुबाट अनुशासन, व्यवस्थापन र नेतृत्व कौशल नयाँ पिँढीले सिक्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्