बागलुङ नगरपालिकामा नगर उप–प्रमुख पदमा मेरो उमेदवारी नगरबासीहरुकै चाहनाको प्रतिफल हो । नागरिकहरुको आग्रहलाई अन्तिम अवस्थामा मैले स्वीकार गरें । जसको परिणाम म निर्वाचित भएं । म बिगत देखि नै जनतामा बिश्वास राख्ने मान्छे हुं । जनताको मन जित्ने नाममा मैले मरिहत्ते गरेर पद माग्न कोही कसैसंग कहिल्यै हिडेजस्तो लाग्दैन र हिड्दिन पनि । म जनताको छोरा जनताकै हैसियतमा बसेर काम गरिरहन्छु ।
कतिपयले म बागलुङ नगरपालिकाको उप–प्रमुखमा नआएको भए हुन्थ्यो । अलि माथिल्लो तहमा पुग्नु पर्ने मान्छे भन्नु भयो । मैले माथि नै भने म जनताले दिएको जुन सुकै जिम्मेवारी स्वीकार गर्ने मान्छे हुं । मलाई यो ज्ञान छ की म जनताको सेवक हुं । जनताको सहयोगका लागी म २४ घण्टा तयारी अवस्थामा रहेको छु ।
म पनि यो समाजको उत्पादन हो । मेरो लक्ष्य भनेको आकाश छुने होइन । म जति गर्न सक्छु त्यो बोल्छु । बोलेको कुरा पुरा गर्नु मेरो मुख्य कर्तब्य हो । नगरपालिका निर्वाचनमा नगरबासीहरुका माझ प्रतिबद्धता जनाएका एजेण्डाहरु कार्यान्वयनमा इमान्दारीताका साथ लागि रहने छु ।
हाम्रो बागलुङ, समृद्ध बागलुङ, राम्रो बागलुङ मेरो परिकल्पना छ । मेरो परिकल्पना हावाको सपना हैन । मेरो मित्र नगर प्रमुख जनक पौडेलसंग संयुक्त रुपमा प्रतिबद्धता पत्रमा जनाएका कार्यहरु हामी पुरा गरेरै छाड्छौं ।
बागलुङ नगरपालिका क्षेत्रको अवस्थाका बारेमा नगरबासीहरु जानकार नै हुुनुहुन्छ । धेरै खालका समस्याहरु हाम्रा सामु चुनौतिका रुपमा उपस्थित छन । नगरबासीहरुका इच्छा आकांक्षा धेरै छन । लामो समय देखि स्थानिय निर्वाचन नहुदा तथा राजनैतिक स्थिरता कायम नरहदा जटिलता र चुनौति थपिदै गए । नागरिकका यी जटिलता र चुनौति समाधानका लागी साझा संकल्प आवश्यक रहेको छ ।
जिल्लामा रहेर राजनीति गर्ने हामीहरुले नगरको लागी बिगतमा बृहत्तर विकासका एजेण्डा समेत तय गर्न सकेनौ । मलाई आश्चर्य लाग्छ हाम्रो राजनीति देखेर । पद र लोभका लागी नागरिकहरुलाई साझी राखेर बिभेदको राजनीति अब नगरौं । म गलत पनि हुन सक्छु नागरिकहरुलाई गरिएको छुवाछुत र बिभेदले मलाई निकै दुखि तुल्याएको छ । नागरिकहरु भन्नु हुन्छ– हाम्रा नेताहरु जनताका नेता हुन सकेनन । नेताहरु त कोही महिलाका भए । कोही उद्योगीका कोही ब्यापारीका आदी आदी । यसरी राजनीतिको भजन गाउदा पनि जनताका समस्या जिउदै छन ।
अब जनतालाई घात–अन्र्तघातको कुरा नगरौं । गुट उप–गुटका कुरा नगरौं । जन प्रतिनिधीलाई असफल पाछौं नभनौं । आत्मा बिश्वासका साथ जनतामा जाऔं । गोहीका आसुं खसाल्दै आफुलाई कमजोर सावित नगरौं । नागरिकका समस्या पहिचान गरौं र सामूहिक रुपमा समाधान खोज्यौं ।
मलाई पूर्ण बिश्वास छ जिल्लामा रहेका सबै पक्षले जनताकै पक्षमा रहेर काम गर्नु हुनेछ । समाजमा आप–नो अमर किर्ति राख्नु हुनेछ । पुर्खाको साख जोगाउदै असल र चरित्रवान ब्यक्तित्व निर्माणमा लाग्नु हुनेछ । बिकासमा राजनीतिको गन्ध आउने छैन । सांच्चै अबको राजनीति जनता मैत्रि हुनेछ ।
बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का













































































































































































































