
साउदी अरबसहितका ४ खाडी मुलुकले कतारलाई आफ्ना सर्त पूरा गर्न थप ४८ घण्टाको समय दिएका छन् । आतंककारीलाई सहयोग गरेको आरोप लगाउँदै कूटनीतिक सम्बन्धविच्छेद गरेको एक सातापछि साउदी अरब, युनाइटेड अरब इमिरेटस्, बहराइन र इजिप्टले कतारमाथि १३ वटा सर्त अघि सारेका थिए ।
ती सर्त पूरा गर्न दिएको समयसीमा आइतबार सकिएकोमा उनीहरूले थप ४८ घण्टाको समय दिएका हुन् । साउदी नेतृत्वका खाडी मुलुकले कतारको अल जजिरा टेलिभिजन बन्द गर्नुपर्ने, इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने र कतारमा रहेको टर्कीको सैनिक पोस्ट हटाउनुपर्नेलगायतका सर्त राखेका हुन् । ती सर्त पूरा गर्ने भएमात्र कतारसँग वार्ता गरी शान्तिपूर्ण समाधान निकाल्ने उनीहरूले बताएका हुन् ।
कतारमाथि छिमेकी खाडी मुलुकहरूले गत जुन ५ देखि नाकाबन्दी लगाएका छन् । आफ्ना सर्त पूरा नगरे कतारले थप प्रतिबन्धको सामना गर्नुपर्ने उनीहरूले चेतावनी दिएका छन् । साउदी अरबसहितका खाडी मुलुकहरूले कतारसँगको स्थल, वायु तथा जलसम्बन्ध तोडेका छन् ।
यसैबीच, कतारका विदेशमन्त्री मोहम्मद विन अब्दुलरहमान अल थानीले खाडी मुलुकका १३ सर्तका विषयमा आफ्नो मुलुकको प्रतिक्रिया सोमबार कुवेतका अमीर शेख सवाह अल अहमद अल सवाहलाई बुझाएका छन् । खाडीको कूटनीतिक संकट समाधानका लागि कतारले मध्यस्थता गरिरहेको छ ।
कतारका अमीरको उक्त पत्रमा भएको विषय भने सार्वजनिक गरिएको छैन । इजिप्टको कायरोमा आगामी बुधबार हुने साउदी अरब, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेटस्का विदेशन्त्रीहरूको बैठक कतारको उक्त प्रतिक्रियामा केन्द्रित हुनेछ । बैठकमा कतार संकटको वर्तमान अवस्थाबारेमा छलफल हुने इजिप्टको विदेश मन्त्रालयले जनाएको छ । बैठकमा ती मुलुकहरूले कतारले आफ्ना सर्त पूरा नगरे के गर्ने भन्नेबारेमा सो रणनीति बनाउने बताइएको छ ।
कतारका विदेशमन्त्री थानीले दोहाले साउदी नेतृत्वका सर्त पूरा नगर्ने स्पष्ट पारिसकेको भन्दै सही वातावरणमा वार्ता गर्न तयार रहेको बताएका छन् । यसैबीच, अफ्रिकन युनियनका अध्यक्ष एवं गिनीका राष्ट्रपति अल्फा कान्डेले खाडी कूटनीतिक संकटको शान्तिपूर्ण समाधानका लागि आह्वान गरेका छन् । अफ्रिकन युनियनको २९ औं सम्मेलनमा बोल्दै उनले अफ्रिकी मुलुकहरूले यो समस्याका बारेमा एक मत बनाउनुपर्ने पनि बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खाडी संकटका विषयमा साउदी राजा सलमान र अबुधावीका राजकुमार शेख मोहम्मद विन जायेल अल–नाहयानसँग छुट्टाछुट्टै वार्ता गरी चासो व्यक्त गरेका छन् । उनले आतंकवादलाई परास्त गर्ने रियाद सम्मेलनको मूल उद्देश्यलाई पूरा गर्न र स्थायित्वको प्रवद्र्धनका लागि पनि यस क्षेत्रमा एकता हुनुपर्ने आवश्यकता औंल्याए ।
कतारको साथमा टर्की
टर्कीले आफू कतारको साथमा रहेको बताउँदै आएको छ । टर्कीको सरकारी समाचार समिति अनादोलुले राष्ट्रपति रेसेप तैयीप इर्दोगानलाई उद्धृत गर्दै भनेको छ, ‘हामी कतारको साथमा छौं, कतारले यी कुनै पनि सर्त स्वीकार गर्नुहुँदैन ।
इर्दोगानले कतारमाथिको प्रतिबन्ध सरासर अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको र त्यसलाई खुकुलो बनाउने निहुँमा कतारमाथि नाजायज सर्त राखेका बताएका छन् ।
फोटो–कतारको दोहामा रहेको अमीर शेख तामिम बिन हमादको चित्रमा लेख्दै सर्वसाधारण । -रोयटर्स
ईकान्तिपुरबाट