अमेरिकाले एक दर्जनभन्दा बढी रसियाली र चिनियाँ कम्पनी तथा व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको आणविक गतिविधिलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले ती कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाएको हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको दुई सातापछि अमेरिकाले रसिया र चीनमाथि प्रतिबन्ध लगाएको हो । यसअघि उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने सुरक्षा परिषद्को प्रस्तावमाथि चीन र रसियाले समेत हस्ताक्षर गरेका थिए ।
अमेरिकाले चीन र रसियामाथि लगाएको नयाँ प्रतिबन्धले अप्रत्यक्ष रूपमा उत्तर कोरियामाथि दबाब पर्ने अमेरिकाले जनाएको छ । अमेरिकाको पछिल्लो कदमको उत्तर कोरिया, चीन र रसियाले विरोध गरेका छन् ।

उत्तर कोरियामाथि अप्रत्यक्ष दबाब
अमेरिकाको विदेशी सम्पत्ति नियन्त्रणसम्बन्धी कार्यालयले १० कम्पनी र ६ जना व्यक्तिलाई प्रतिबन्धको सूचीमा राखेको छ । उत्तर कोरियाका आणविक कार्यक्रमलाई सहयोग गर्ने व्यक्ति र कम्पनीहरूमाथि प्रतिबन्ध लगाएर प्योङयाङमाथि निरन्तर दबाब दिइने र उनीहरूलाई अमेरिकाको वित्तीय प्रणालीबाट एक्ल्याउने अमेरिकाले जनाएको छ । पछिल्लो कदमसँगै अमेरिकी नागरिक र कम्पनीले प्रतिबन्धित कम्पनीसँग व्यावसायिक कारोबार गर्न पाउने छैनन् । प्रतिबन्धको चीनले विरोध गरेको छ । आफ्ना कम्पनीमाथि दण्ड दिइएको भन्दै अमेरिकी कदम सच्याउन बेइजिङले माग गरेको छ ।
‘आणविक हतियारको विकल्प छैन’
उत्तर कोरिया शान्त हुँदै गएको अमेरिकी दाबीलाई प्योङयाङले अस्वीकार गरेको छ । राष्ट्रसंघको आह्वानमा जेनेभामा आयोजित निशस्त्रीकरणसम्बन्धी सम्मेलनमा उत्तर कोरियाली एक कूटनीतिज्ञले देशको रक्षाका लागि आणविक हतियार न्यायोचित र वैधानिक विकल्प भएको जिकिर गरे । ‘जबसम्म अमेरिकाले शत्रुतापूर्ण नीति र आणविक धम्की दिन्छ, तबसम्म उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रम अन्त्य गर्ने विषयमा हुने कुनै पनि सम्झौता हुँदैन,’ ती कूटनीतिज्ञले भने ।
अमेरिका–उत्तर कोरिया तनाव
पछिल्ला महिनामा उत्तर कोरियाले गरेको शृंखलाबद्ध क्षेप्यास्त्र परीक्षणले प्योङयाङ र वासिङ्टनबीचको दूरी बढेको छ । उत्तर कोरियाले अमेरिकी भूभागमा आक्रमण गर्ने चेतावनीले अमेरिका क्रुद्ध बनेको छ भने अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासले उत्तर कोरिया थप उत्तेजित बनेको छ ।
सो अभ्यास उत्तर कोरियामाथि आक्रमण गर्ने बहाना भएको प्योङयाङको बुझाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङमाथि आक्रोश र आगोले बदला लिने चेतावनी दिँदै आएका छन् ।
यसैबीच, उत्तर कोरियाले समसामयिक विषयमा एउटा प्रोपोगान्डा भिडियो सार्वजनिक गरेको छ । सो भिडियोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई गुआमको चिहानघरमा देखाइएको छ ।
त्यस्तै, उपराष्ट्रपति माई पेन्स आगोको ज्वालामा दन्किएको भिडियोमा देख्न सकिन्छ । तनावको समयमा उत्तर कोरियाले यसअघि पनि उत्तेजक भिडियो बारम्बार सार्वजनिक गरेको थियो ।
उत्तर कोरिया संयम देखियो
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले पछिल्ला दिनमा उत्तर कोरिया संयम देखिएको भन्दै उसको प्रशंसा गरेका छन् । उत्तर कोरियामा राष्ट्रसंघको प्रतिबन्धपछि आणविक गतिविधि नदोहोरिएको विदेशमन्त्री टिलरसनले बताए ।
‘सुरक्षा परिषद्ले सर्वसम्मत रूपमा प्रतिबन्ध लगाएपछि कोरियाली प्रायद्वीपमा क्षेप्यास्त्र प्रक्षेपण र अन्य उत्तेजक कार्य देखिएको छैन,’ टिलरसनले भने । उत्तरको संयमले निकट भविष्यमा दुई पक्षबीच वार्ता हुने टिलरसनले विश्वास व्यक्त गरे ।
विदेशमन्त्री टिलरसनको पछिल्लो अभिव्यक्ति शान्ति स्थापनामा महत्वपूर्ण साबित हुने विश्लेषण गरिएको छ । उत्तर कोरियाले यसअघि कहिल्यै नदेखाएको धैर्य प्रदर्शन गरेको टिलरसनले बताए । ‘अमेरिकाले खोजिरहेको संकेत उत्तर कोरियाले देखाइरहेको छ ।
साभार: नयाँ पत्रिका
















































































































































































