प्योङयाङले प्रशान्त महासागरस्थित अमेरिकी भूमि गुआम आक्रमण गर्ने पहिलो कदमस्वरूप जापानको समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनले जनाएको छ । उत्तर कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका वेला उत्तर कोरियाले बुधबार स्थानीय समयअनुसार बिहान ६ बजे राजधानी प्योङयाङबाट क्षेप्यास्त्र प्रहार गरेको थियो ।
जापानको उत्तरी हकाइदो टापुको करिब तीन सय किलोमिटरसम्म यो क्षेप्यास्त्र पुगेको थियो । क्षेप्यास्त्र प्रहारले देशको सुरक्षामा गम्भीर खतरा निम्तिएको जापानका प्रधानमन्त्री सिन्जो अबेले टिप्पणी गरेका थिए । उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सूचना दिने साइरन बजेको र सरकारले आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेको थियो ।
सुरक्षा परिषद्द्वारा निन्दा
उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सर्वसम्मत रूपमा निन्दा गरेको छ । उत्तर कोरियाका कदम असभ्य र आपत्तिजनक भएको परिषद्ले ठहर गरेको छ । परिषद्को बुधबार बसेको बैठकले प्योङयाङलाई आगामी दिनमा क्षेप्यास्त्र परीक्षण तत्काल रोक्नसमेत आग्रह गरेको छ ।
उत्तर कोरियाली शासक किम जोङ उनका गतिविधिले राष्ट्रसंघका सम्पूर्ण सदस्य राष्ट्रलाई खतरामा पारेको परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उत्तरले शृंखलाबद्ध रूपमा क्षेप्यास्त्र प्रहार गर्नुमा अमेरिकाको सैन्य गतिविधि जिम्मेवार भएको रसिया र चीनले आरोप लगाएका छन् भने बेलायतले प्योङयाङलाई अन्तर्राष्ट्रिय समुदायले दबाब दिनुपर्ने जनाएको छ । बुधबार जापानको राजधानी टोकियो पुगेकी बेलायती प्रधानमन्त्री थेरेसा मेले चीनले उत्तर कोरियाका गतिविधि नियन्त्रण गर्न पहल गर्नुपर्ने विचार व्यक्त गरिन् । उत्तर कोरियाले पछिल्लो समयममा एकपछि अर्को क्षेप्यास्त्र प्रहार गरेको छ ।
मंगलबार प्रहार गरेको क्षेप्यास्त्र प्योङयाङमै निर्माण गरिएको ह्वासोङ–१२ भएको जनाइएको छ । सो क्षेप्यास्त्र प्योङयाङबाट २७ सय किलोमिटरको दूरीमा पुगेर उत्तर प्रशान्त महासागरमा खसेको थियो । क्षेप्यास्त्र होकाइदो टापुमाथि २७ सय किलोमिटरको उचाइमा पुगेर समुद्रमा खसेको थियो ।
उत्तर र दक्षिण कोरियाको तस्बिर युद्ध
उत्तर कोरिया र दक्षिण कोरियाबीच बारम्बार शब्दयुद्ध हुने गर्छ । तर, पछिल्लो पटक भने ‘तस्बिर युद्ध’ भएको छ । सो प्रक्षेपणपछि उत्तर कोरियाली सञ्चारमाध्यमले सर्वोच्च नेता किम जोङ उनको प्रसन्न मुद्रामा बसेको तस्बिर सार्वजनिक गरेको छ ।
चारैतिर सेनाले घेरिएका नेता उन क्षेप्यास्त्र प्रहार गरिएको स्थानमा चम्किलो मुहारमा देखिनुले उनको प्रत्यक्ष संलग्नता रहेको अनुमान गर्न सकिन्छ । प्रहारपछि किम जोङ उनलाई असीम सन्तुष्टि मिलेको कोरियाली समाचार संस्था केसिएनएले टिप्पणी गरेको छ । ‘प्रशान्त क्षेत्रमा सैन्य कारबाहीको ‘पहिलो कदमप्रति’ किमले सन्तुष्टि जनाएका छन्,’ केसिएनएले टिप्पणी गरेको छ ।
उत्तर कोरियाले किमको तस्बिर सार्वजनिक गरेको केही मिनेटपछि दक्षिण कोरियाले यसअघि अज्ञातस्थलमा प्रहार गरेका दुईवटा क्षेप्यास्त्रको तस्बिर सार्वजनिक गरेको छ । दुई क्षेप्यास्त्रमध्ये एउटा ३१० माइलको दूरी र अर्को ५ सय माइलको दूरीसम्म पुग्न सक्ने जनाइएको छ । उत्तर कोरियामाथि प्रत्याक्रमण गर्ने रणनीतिस्वरूप दक्षिण कोरियाले तस्बिर सार्वजनिक गरेको हुन सक्ने विश्लेषकहरूले टिप्पणी गरेका छन् ।
साभार : नयाँ पत्रिका