६ जेष्ठ २०८१, आईतवार

 

ताराखोलामा यसरी हुँदैछ ऐतिहासिक सिस्नो खोस्ने पर्वको तयारी (फोटोकथा)

ताराखोले मगरको ऐतिहासिक सिस्नो खोस्ने पर्व मनाउने तयारीमा स्थानीय जुटेका छन् । डोल्पाको ताराभोटबाट अहिलेको तारागाउँमा आएर वसोवास सुरु गरेदेखि नै यो पर्व मनाउने गरिएको हो ।

त्यही परम्परालाई निरन्तर मनाउने क्रममा ताराखोला गाउँपालिका–४ (साबिक तारा–९) ताराखागाउँमा सिस्नो खोस्ने तथा सिङ फेर्ने कार्यक्रम हुने स्थानीय दलराम पुनले जानकारी दिए ।

ताराखोला–५ का वडा सदस्य समेत रहेका पुनले पुर्खादेखि नै चालिएको परम्परालाई निरन्तरता दिईंदै आएको बताए ।

‘संस्कृति हाम्रो पहिचान हो,’ पुनले भने, ‘बुढापाकाले विधिपुर्वक पुजा आजा गर्ने र युवा युवाती सिस्नो खोसेर रमाईलो गर्ने हाम्रो चलन हो ।’

कार्यक्रमको तयारी अन्तिम चारणमा रहेको स्थानीय युवा जगबहादुर घर्तीले बताए ।

‘पुर्खाहरुले मनाउँदै आएको सँस्कृतीलाई जोगाउन युवाहरुको सक्रियता आवश्यक छ,’ घर्तीले भने, ‘हाम्रा परम्परालाई बचाउँदै युवा पुस्तामा हस्तान्त्रण गर्नुपर्छ भनेर युवाको सक्रियता बढाएको छौँ ।’


उनका अनुसार सँस्कृतीको मौलिकतालाई बचाउँदै प्रचार–प्रसार र प्रबद्र्धन गर्न युवा आँफै पनि जागरुक बन्नुपर्छ ।

डोल्पाको ताराभोटबाट बसाई सरेर आउँदा पुर्खाले राँगोको सिङ लिएर धनुषबाँणले हान्दै आएका विश्वास गरिन्छ ।

अहिलेको ताराखोलाको तारागाउँमा आईपुगेर बाँणले हान्दा सिङ आकाशतिर फर्केपछि उनीहरु त्यही ठाउँमा वस्न सुरु गरेको घर्तीले बताए ।

त्यसबेलादेखि नै सिङ फेर्ने तथा सिस्नो खोस्ने परम्परा सुरु गरेको मान्यता रहेको छ ।

विस्ती विस्तार हुँदै अन्य ठाउँमा समेत वसोवास हुँदै गएको र सिस्नो खोस्ने पर्वलाई पुर्खाले थालेको मान्यता भएकाले ऐतिहासिक रुपमा मनाउने गरिएको बुढापाका बताउँछन् ।

यो बर्ष भदौ १९ र २० गते सिस्नो खोस्ने पर्व मनाउने तयारी भएको छ । १७ र १८ गते स्थानीयवासीले पर्व मनाईने ठाउँ सहित गाउँटोलको सरसफाई गरिनेछ ।
बाटोघाटोको सरसफाइ गर्ने, स्वागत गेट बनाउने, ध्वजापतकाले सजाउने काम हुने घर्तीले बताए ।

भदौ १९ गते साँझदेखी रातभरी पुजाआजा सहित कुडुुराली बस्ने र २० गते विहान जीउँदै राँगोको मुटु झिकेर सिङसिहत मुर्तिमा चढाउने गरिन्छ ।

१ वर्ष सिस्नो खोस्ने र अर्को बर्ष सिङ फर्ने परम्परा रहेको छ । २० गते दिउँसो अविवाहित मगर युवा र युवतीले झाँकी सहित सिस्नो खोस्ने कार्यक्रम हुने अर्का युवा केशव रोकाले बताए ।

सिस्नो खोस्ने दिन बुढापाकाले आफ्नै परम्परामा आधारित रहेर ढ्याङ्ग्रो बजाउँदै झाँकी निकाल्छन् । उनीहरुले आफ्ना पुर्खा, कुल तथा प्रकृतीलाई सम्झँदै विधिपुर्वक पुजाआजा गर्छन् । बाढापाकाको ढ्याङ्गोका तालमा युवायुवतीले सिस्नो खोस्छन् ।

युवाहरुले मुठा पारेर ल्याएको झरिलो सिस्नो खोसखोस गर्दा निकै रोचक हुन्छ । सिस्नोको मुठाको विचमा सुङ्गुरको सपेटो बाँधेर राखिएको हुन्छ । खोसाखोस गर्ने क्रममा युवातीहरुले त्यो सपेटो आफ्नो पक्षमा पारेर युवाहरुलाई जीते भने युवा पक्षबाट दण्ड तिर्नुपर्ने मान्यता छ । युवा पक्षले जीतेमा त्यसलाई सामान्य र स्वभाविक मानिन्छ ।

पर्वमा मागर समुदायका बुढापाका र युवायुवाती प्रत्यक्ष सहभागी हुन्छन् । अन्य समुदायका स्थानीय अवलोकन गर्न आउने गर्छन । पर्वको अवलोकान गर्न ताराखोलाका विभिन्न ठाउँसँगै त्यस बाहिरबाट पनि दर्शक तारागाउँ पुग्छन् ।

अहिले मेलाको व्यवस्थापन गर्नको लागी जगबहादुर घर्तीको पहलमा विदेशबाट समेज रकम जुटाईएको छ । रोजगारको सिलसिलामा युएईमा रहेका रिमबहादुर घर्ती, सस्तबहादुर विश्वकर्मा, भिम बहादुर विश्वकर्मा, दिर्गबहादुर घर्तीले कार्यक्रमका लागि १४ हजार रकम पठाएका छन् । थप रकम स्थानीय रुपमा जुटाईउनेछ ।

पर्वलाई व्यवस्थित रुपमा अघि बढाउन ताराखोला गाउँपालिका कार्यालयमा समेत प्रश्ताब पेश गरिने घर्तीले बताए । आगामी बर्षदेखि ऐतिहासिक सिस्नो खोस्ने र सिङफेर्ने पर्वको प्रबद्र्धन गर्न युवाको समिति नै गठन गरेर काम गर्ने तयारी भएको छ । सांस्कृतिक पक्षसँगै खेलकुद र मनोरञ्जनमुलक कार्यक्रम जोडेर मेलाको विकास गरिने युवाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्