– प्रेमपाल शर्मा
करिब एक दशकअघिको कुरा हो, क्यानडामा एकदिन अचानक जनता सडकमा ओर्लिए । उनीहरूको माग थियो– शिक्षामा असमानताको रोक । ९९ प्रतिशत समान शिक्षा उपलब्ध देशमा एक प्रतिशत निजीकरण गर्न खोज्दा जनता यसरी सडकमा ओर्लेका थिए । उनीहरू भनिरहेका थिए, ‘शिक्षामा निजीकरण गर्न पाईंदैन ।’ के हाम्रोमा शिक्षामा निजीकरणको विरोधमा कहिल्यै आवाज उठेको छ ? उल्टो मध्यम र उच्च वर्गले शिक्षामा निजीकरणलाई बढावा दिइरहेको छ ।
हाम्रो अहिलेको शिक्षाले समाजमा विभेद पनि बढाइरहेको छ । खासगरी शिक्षामा निजीकरणले विभेद बढाएको हो । अमेरिका र क्यानडामा ९० प्रतिशत शिक्षा सबैका लागि समान छ । त्यहाँ राज्यको गभर्नरका छोराछोरी हुन् वा ट्याक्सी ड्राइभरका, उनीहरूले एकै किसिमको एउटै शिक्षा हाँसिल गर्न सक्छन् । तर हाम्रो देशमा त्यो कल्पना गर्न पनि असंभव हुन गएको छ ।
भारतजस्तो वहुभाषी तथा विविध संस्कृतिको देशमा एउटै कक्षामा फरक फरक पृष्ठभूमिका बच्चा रहँदा सोच्नुहोस् त शिक्षा कस्तो रमाइलो र बहुरंगी हुने थियो । कक्षामा आदिवासी बच्चाहरूले आ–आफ्नो परम्पराको कुरा गर्नेछन् । धनी, गरिब, वकिल, कर्मचारी सबै सबैका बच्चा एउटै कक्षामा हुँदा उनीहरूले फरक फरक अनुभव गर्न पाउनेछन् । एक–आपसबाटै धेरैभन्दा धेरै जानकारी हाँसिल गर्न सक्नेछन् । यसले समभाव र समानताको पनि विकास हुनेछ । धनीका बच्चालाई गरिबको घरमा केकस्तो हुन्छ थाहा हुनेछ । यसले भविष्यका प्रशासक दक्ष बन्नेछन् । बच्चा समवेदनशील नागरिक बन्नेछन् । अब जनता जाग्न जरुरी भइसकेको छ । उनीहरू सडकमा आउन आवश्यक भइसकेको छ र अब जोडले भन्नु परेको छ– ‘हामीलाई निजी स्कूल चाहिँदैन ।’
सायद अब त्यो समय आइरहेको छ कि निजी स्कुलका ढोकामा अब अभिभावक धर्ना बस्नेछन् र सरकारी स्कुल व्यवस्थित बनाउन नीति–निर्मातालाई दबाब दिनेछन् ।
अर्को कुरा, दिल्लीकै सरकारी स्कुलमा सरकारीका बच्चा पढाइदैन । त्यहाँ त मजदूर र गरिबका बच्चा मात्र भर्ना हुन्छन् । यदि हामी सबैका बच्चा त्यहाँ पढ्थे भने सरकारी स्कुललाई सुबिधासम्पन्न र व्यवस्थित बनाउन स्वतः दबाब पर्ने थियो । सरकारी स्कुल त्यति पंगु छैनन्, जति प्रचार गरिएको छ । सरकारी स्कुलविरुद्धको प्रचार त एक राजनीति हो । विश्व बैंक, अमेरिका वा अन्य एजेन्सीहरूको दबाबमा विकाशोन्मुख देशहरूमा निजी स्कूल बढाउने दबाब जारी छ । सबैतिर निजीकरण बढिरहेको छ भने शिक्षामा निजीकरण बढाउँदा के हुन्छ भन्ने उनीहरूको तर्क छ ।
निजी स्कूल तब मात्र बढ्न सक्छन् जब सरकारी स्कूल बदनाम हुन्छन् । सरकारी स्कूल जति बदनाम भए, निजी स्कुल बढाउन त्यति नै सजिलो हुन्छ । राजनीतिक दलहरू पनि यही चाहन्छन् किनभने निजी स्कूल संचालकहरू कि कुनै न कुनै पार्टीका कार्यकर्ता छन् या ता पार्टीलाई टन्न चन्दा चर्ने दाता । देशी–विदेशी कुनै एजेन्सीको कुनै अनुसन्धानमा पाउनु भएको छ जहाँ कुनै निजी विद्यालयका संचालकले भनेका हुन् कि हामीले समाजमा परिवर्तन र विकासका लागि स्कुल चलाएका हौ । भन्दैनन् । किनभने यो उनीहरूको कमाउधन्दा मध्येकै एक हो स्कूल संचालन पनि ।
निजी स्कूलहरू सामाजिक न्याय र परिबर्तनप्रति बेपर्वाह छन् किनभने निजी स्कुल संचालन मुनाफाको एक धन्दा मात्र हो । समाजमा सम्मान मिल्ने र नाफा पनि हुने धन्दा । उनीहरू विज्ञापनमा प्रतिश्पर्धा गर्छन्– हाम्रा कक्षाहरू वातानुकुलित छन्, हामी छुट्टीमा विदेश घुमाउँछौ, अंग्रेजी हाम्री अधिष्ठात्री देवी हुन् ” आदि आदि । सरकारले निजी स्कुलमा तुरुन्त रोक लगाउनु जरुरी छ ।
अहिले त निजी स्कुलमाजस्तो मनमौजी कुनै क्षेत्रमा छैन । उनीहरूले कुनै जिम्मेवारी र सामाजिक दायित्व बहन गर्नु पर्दैन न त सरकारले कुनै अंकुश नै लगाउन सक्छ । अहिले हामी पनि बच्चालाई उसको नाम, रुचि वा परिचयभन्दा पनि पहिले त कुन स्कुलमा पढ्छौ भनी सोध्छौ । किनभने बच्चाले भन्ने स्कुलको नामबाटै उसका आमा–बाबु र परिवारको हैसियत पत्ता लगाउन सकिने भएको छ । यदि बच्चाले धनी निजी स्कुलको नाम भन्यो भने उसको परिवार पनि सम्पन्न छ र सरकारी स्कुलको नाम भन्यो भने त उसका बाबु–आमा गरिब, किसान वा मजदूर छन् भन्ने थाहा भैहाल्यो । बच्चा के सिकिरहेको छ वा उसले के सिक्नुपर्छ भन्नेमा त हाम्रो चासो नै छैन । अनि कसरी हुन्छ शिक्षामा विकास ? यसले त अझै व्यापारीकरण मात्र बढाउनेछ ।
‘मण्डे टेस्ट’ को मार र सिर्जनशीलताको हत्या
अधिकांश निजी स्कुलहरूले हरेक साता परीक्षा लिएर बच्चालाई अर्को आतंक थपिदिएका छन् । हरेक ‘मण्डे टेस्ट’ मा उनीहरू तयार हुनै पर्यो । तिनलाई शनिबार र आइतबार विदाको दिनमा पनि अरु सोच्ने फुर्सद नै छैन । तिनका अभिभावक समेत ‘मण्डे टेस्ट’ मै मग्न । कोही पाहुना आएका छन् भने पनि शरीर पाहुनानजिक भए पनि ध्यान बच्चालाई रटाउनमै र ‘मण्डे टेस्ट’ का लागि तयार पार्नमै दिइरहेका हुन्छन् । जतिसुकै बेला पनि परीक्षा परीक्षा । परीक्षाको तनावले हाम्रा बालबालिकामाथि हामी आतंक शिक्षा प्रणालीलाई स्थापित गरिरहेका छौ । परीक्षा प्रणाली पनि पेचिलो बन्दै गइरहेको छ कि शिक्षाको अर्थ असल नागरिक चरित्र निर्माण गर्नु नभएर यो असी प्रतिशत, नब्बे प्रतिशतको ‘मुसा दौड’ मा सामेल हुनु रहेको छ । यसले ट्युसन र कोचिंग सेन्टरको बाढी आउन थालेको छ । अनि पढाइ चाहिनेभन्दा ठूलो बोझ बनेको छ ।
आजको रटन्ते विद्याले बालबालिकाको रचनात्मकतामा गिरावट आइरहको छ । सबै वर्ग, पेसा, धर्म, सम्प्रदायका बालबालिका एकै छतमुनि अटाउन सके यसले शिक्षामा समानता स्थापित मात्र गर्दैन, यसले बच्चालाई सहपाठीहरूबाट पनि धेरैभन्दा धेरै सिकाउँछ । बच्चाले शिक्षक र पाठ्यक्रमबाट मात्र होइन, सहपाठीबाट पनि धेरै कुरा सिकिरहेको हुन्छ । बच्चा भनेको ज्ञानको ग्राहक मात्र होइन, उ त स्वयम् सर्जक पनि हो, जसले आफ्नो बोली, भाषा, अनुभव र परिवेशबाट एकसाथ सिकिरहेको हुन्छ । रचनात्मकताका लागि बच्चाले आफ्नो मातृभाषामा कम्तीमा प्राथमिक स्तरसम्मको शिक्षा हासिल गर्न पाउनु पर्छ । मातृभाषामा शिक्षा नदि“दा बचपनबाटै हामी उसको सिर्जनशीलताको हत्या गरिरहेका छौ“ । उसलाई पाठ्यक्रमको रटान छाडेर फिल्ड भिजिट, कला, संगीत, साहित्य र विज्ञानका रचनात्मक काममा हामीले लगाउन सकिरहेका छैनौ” ।
धेरैजसो बच्चाले प्राथमिक शिक्षा हासिल गरेपछि आफूखुशी आफ्नो रुचिको विषय पढ्न पनि पाउ“दैनन् । उसको असी प्रतिशत फैसला उसका आमा–बाबुले गर्छन् र डिग्रीवाला आमा–बाबु छन् भने यो प्रतिशत अझ बढ्छ । यसमा ग्रामीण क्षेत्रका बालबालिकालाई अलि फाइदा छ किनभने उनीहरूले बाबु–आमाको डिग्रीको बोझको शिकार हुनु पर्दैन । छोरीले अझ बढी स्वीकृति लिनु पर्छ । लगाउने, ओढ्ने, हिँड्नेजस्ता सबै कुरामा आमा–बाबुसँग नसोधी हुँदैन । पश्चिमाहरू भने विषय चुन्ने सुबिधा बच्चालाई नै दिन्छन् । अल्बर्ट आइन्स्टाइन क्लर्क थिए तर उनलाई भौतिकशास्त्र पढ्न कसैले रोकेन । ग्रेगर मेण्डल पादरी थिए तर उनलाई आनुवांशिकीको प्रयोग गर्न कसैको अनुमति पर्खनु परेन । प्रसिद्ध लेखक एबम् व्यवस्थापनविज्ञ गुरुचरणदास भारतबाट रसायनशासत्र पढ्न भनी यूरोप गएका थिए तर त्यसमा उनलाई रुचि भएन र कानूनमा भर्ना भए । कानूनमा पनि मन रमाएन र पछि मात्र उनी व्यवस्थापनमा गएका थिए ।
शिक्षा भनेको स्वतन्त्रता पनि हो । यो सर्वश्रेष्ठ रुपमा तब मात्र फल लाग्न पाउँछ, जब यसमा मनदेखि लाग्ने स्वतन्त्रता प्राप्त हुनछ । ‘बुबाले भन्नुहुन्छ’ भन्ने गुलामी शैलीले होइन ।
प्रस्तुतिः अनन्त वाग्ले
भारतका खयातिप्राप्त शिक्षाविद् प्रेमपाल शर्माका विचारहरू समेटिएको पुस्तक ‘शिक्षा, भाषा और प्रशासन’ साभार। साहित्य, भाषा र शिक्षासम्बन्धी डेढ दर्जन जति पुस्तक प्रकाशित गरेका शर्मा भारतको प्रतिष्ठित साहित्य एकेडेमी पुरस्कारबाट समेत सम्मानित छन् । लेखक मञ्च प्रकाशन गाजियावादबाट प्रकाशित यस पुस्तकमा भारतकै दैनिक जागरणका पत्रकार अनुरागका विविध सवालमा प्रेमपाल शर्माले व्यवहारिक उदाहरणहरू प्रस्तुत गर्दै थुप्रै घतलाग्दा विषयहरू उठाएका छन् । ती सवालहरू मध्ये निजी शिक्षाको सन्दर्भ नेपालको सन्दर्भमा पनि समसामयिक भएकाले उक्त पुस्तकबाट लिइएको हो ।
साभार: सिकाइ अनलाईन