उत्तर कोरियाले आइतबार हाइड्रोजन बम परीक्षण गरेको छ । यो उसको छैटौँ परमाणु परीक्षण हो । अन्तर्राष्ट्रिय समुदायको आग्रह र संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको बेवास्ता गर्दैे उत्तर कोरियाले आइतबार शक्तिशाली परीक्षण गरेको हो । पछिल्लो परीक्षणले विश्वभर ठूलो हलचल ल्याएको छ । परीक्षण गरेको बम ब्यालेस्टिक क्षेप्यास्त्रमा राख्न मिल्ने उत्तर कोरियाले दाबी गरेको छ । एक साताअघि मात्र उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो । सो क्षेप्यास्त्र जापानको एउटा टापु हुँदै समुद्रमा विस्फोट भएको थियो ।
ठूलो कम्पन
परीक्षणपछि उत्तर कोरियाले क्षेप्यास्त्रहरू निर्माण गरेको क्षेत्रमा कम्तीमा पनि ६ म्याग्निच्युडको कम्पन गएको थियो । सुरुमा उत्तर कोरियामा भूकम्प गएको अड्कल काटिएको थियो । परीक्षणपछि दक्षिण कोरिया, जापान र चीनलगायत नजिकैका मुलुकमा पनि शक्तिशाली कम्पन गएको थियो । दक्षिण कोरियाली विज्ञहरूले परीक्षणका कारण उक्त क्षेत्रमा ५.६ म्याग्निच्युडको कम्पन मापन गरिएको जनाएको छ । परीक्षण हाइड्रोजन बम हुन सक्ने दक्षिण कोरियाली विज्ञहरूले अनुमान गरेका छन् ।
१० गुणा शक्तिशाली
आइतबारको परीक्षण यसअघि उत्तर कोरियाले गरेका परीक्षणभन्दा झन्डै १० गुणा बढी शक्तिशाली रहेको दक्षिण कोरियाले जनाएको छ । ‘आइतबारको परीक्षण यसअघिका परीक्षणभन्दा १० गुणा बढी शक्तिशाली देखिन्छ,’ दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ । दक्षिण कोरियाली सरकारी समाचार संस्था योनहापका अनुसार उत्तर कोरियाले आइतबार परीक्षण गरेको बम सन् १९४५ मा विश्वयुद्धको समयमा जापानको नागासाकीमा अमेरिकाले खसालेको बमभन्दा पनि चार–पाँच गुणा शक्तिशाली छ ।
जापानको विरोध
जापानी प्रधानमन्त्री सिन्जो अबेले पछिल्लो परीक्षणको निन्दा गरेका छन् । परीक्षणले जापानको सुरक्षामा चुनौती दिएको उनले बताए । जापानले चीनमा रहेको उत्तर कोरियाली दूतावासमा विरोधपत्र दर्ता गराएको छ । सो विरोधपत्रमा यस्तो क्षेप्यास्त्र परीक्षणको त्रास र यसबाट उत्पन्न परिस्थिति कुनै पनि हालतमा क्षम्य नहुने जनाइएको छ ।
जापानले परीक्षणको औपचारिक रूपमा विरोध गरेको छ । बारम्बार उत्तर कोरियाको यो हदसम्मको हर्कत कदापि मान्य नहुने पनि उसले जनाएको छ । जापानका विदेशमन्त्री तारो कानोले भने, ‘जापान सरकार उत्तर कोरियाको पछिल्लो कदमको कडा विरोध गर्दछ ।’ यसअघि जाापानले उत्तर कोरियाको परीक्षणबारे अनुसन्धान गरेको थियो । उत्तर कोरियाले गत साता जापानको समुद्रमा पर्ने गरी एक मिसाइल हानेको थियो । परीक्षणले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै उत्तर कोरियामाथि कडा कारबाही गर्न माग गरेको थियो ।
अत्याधुनिक हाइड्रोजन बम
उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रमा समेत लोड गर्न सकिने अत्याधुनिक हाइड्रोजन बम परीक्षण गरेको जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले परीक्षणअघि हाइड्रोजन बम निरीक्षण गरेको कोरियाली सञ्चारमाध्यमहरूले जनाएका छन् । आइतबार परीक्षण गरिएको हाइड्रोजन बम मिसाइलमा लोड गर्न सकिने दाबी गरिए पनि पश्चिमेली मुलुकहरूले भने उत्तर कोरियाली दाबीप्रति शंका व्यक्त गरेका छन् । उत्तरले यति चाँडो अत्याधुनिक प्रविधिको विकास गरिनसकेको धेरैको अनुमान छ ।
उत्तरसँग वार्ता सम्भव : अमेरिका
यसैबीच उत्तर कोरियाले निरन्तरको क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाले कोरियाली प्रायद्वीपको समस्या समाधानका लागि उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको जनाएको छ । एक उच्च सुरक्षा अधिकारीले सो जानकारी दिएका हुन् । सैनिक जनरल जो डनफोर्डले भने, ‘उत्तर कोरियाली शासकसँग छलफल तथा समस्याको समाधान खोज्ने विश्वसनीय विकल्प अमेरिकासँग छ ।’ अमेरिकाको दक्षिण कोरियासँगको सैन्य अभ्यास रोक्ने कुनै योजना नबनाएको उनको भनाइ थियो । अमेरिकाको दक्षिण कोरियासँग भएको संयुक्त सैन्य अभ्यासले चीन तथा उत्तर कोरिया दुवैलाई चिढ्याएको छ । उत्तर कोरियाको गतिविधिले एसियाको सुरक्षामा चुनौती खडा गरिरहेको पनि उनको भनाइ थियो ।
दक्षिण कोरियामा आकस्मिक बैठक
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा गम्भीर सुरक्षा खतरा उत्पन्न गरेको भन्दै उनले सो बैठक बोलाएका हुन् । स्थानीय समयअनुसार अपराह्न साढे ४ बजे सो बैठक बसेको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ । बैठकले उत्तरका उत्तेजक गतिविधिको निन्दा गरेको छ ।
साभार : नयाँ पत्रिका