
नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मना केसीले मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि नेकपा एमालेको विकल्प नभएको दावी गरिन । नेकपा एमाले काठेखोला गाउँपालिका वडा नंं. ८ लेखानीको सोमबार लेखानीमा आयोजित विस्तारित वडा भेलामा बोल्दै केसीले यस्तो बताईन ।
देशको आर्थिक विकास र सामाजिक रुपान्तरणको एजेण्डा सहित राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एमालेले ढुक्कसंग ५ वर्ष सरकार सञ्चालन गर्न आवश्यक रहेको भनाई छ । यो देशमा धेरै सरकार बने तर एमालेले नेतृत्व गरेका सरकारले मात्रै जनताका बीचमा देखिने काम गरेको भन्दै केसीले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेलाई बहुमत सहितको ठुलो पार्टी बनाएर निर्धक्क ५ वर्ष काम गर्ने अवसर प्रदान गर्न आम मतदाताहरुलाई आव्हान गरिन ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिराबहादुर केसीले मुलुकको राष्ट्रियताको रक्षा र आर्थिक विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए । उनले आगामी निर्वाचनमा एमालेले पार्टी अध्यक्ष केपी ओली भावी प्रधानमन्त्री घोषणा गरेर उत्साहका साथ निर्वाचनमा जाने र प्रदेश र केन्द्रमा एमालेकै नेतृत्वमा सरकार गठन गर्ने भएकाले एमालेलाई सहयोग गर्न उनले आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका सहसंयोजक अञ्जु जिसी, नेकपा एमाले क्षेत्रीय कमिटिका पूर्व सदस्य सुभास गौतम, काठेखोला गाउँपालिका वडा नंं. ८ का वडा अध्यक्ष चित्रकला छन्त्याल, नेकपा एमाले वडा कमिटि सदस्यहरु विष्णु कंडेल र एकराज कंडेल लगायतले देश र जनताको भलाईका लागि एमालेको नेतृत्वमा बहुमत सहितको सरकार आवश्यक रहेको बताए ।
कार्यक्रम एमाले वडा कमिटि अध्यक्ष बेलबहादुर जिसीको अध्यक्षता, सहसचिव भक्तबहादुर पुनको सञ्चालन र आर्थिक विभाग प्रमुख मनबहादुर काउचाको स्वागतमा सम्पन्न भएको थियो ।
विस्तारित वैठक पछि सम्पन्न महिलाहरुको भेलाले अखिल नेपाल महिला संघ वडा कमिटि लेखानी गठन गरेका छन् । कमिटिको अध्यक्षमा धनिमाया विक, उपाध्यक्ष जुना क्षेत्री, सचिव तेजु पुन, सहसचिव चित्रकला क्षेत्री र कोषाध्यक्ष कमला पुन रहेका छन ।